युवायुवतीमा किन बढ्दै छ विवाहप्रति वितृष्णा, के विवाह गर्नै पर्छ ?



प्रकाशित मिति : Jul 13, 2019
labellabellabel
  • नविन कुलुङ

काठमाडौँ लामो बसाई पछि घर पुग्दा आमाबुबाले एउटा प्रश्न गर्न कहिल्यै छुटाउनु हुन्न । दशैँमा मनाउन घर जाँदा होस् या कुनै बेला काम परेर घर जाँदा त्यो एउटा प्रश्न गर्न चाहिँ कहिल्यै भुल्नु हुन्न, आमाबुबाले । त्यो प्रश्न हो- ‘छोरा विवाह कहिले गर्छस् ?’ यो प्रश्न मलाई बारम्बार सोधिने प्रश्न हो ।

आमाबुबा भन्नु हुन्छ– ‘हामीलाई त अब बुढेसकालले छोयो, काम गर्न सक्दैनौं । अब त हाम्रो बसी खाने उमेर हो, तिर्थब्रता गर्ने, नाति/नातिनी खेलाउने उमेर हो ।’ आमाबुबाको यो कुरा सुन्दै आएको चार वर्ष जति भयो । आमाबुबाले मात्रै होइन छरछिमेक, इष्टमित्र, आफन्तजनहरू सबैले भन्छन्- ‘ विवाह कहिले गर्छस् ?, हामीले बुहारी कहिले हेर्ने ? एउटा छोराको बुहारी पनि हर्न नपाई मरिन्छ कि के हो ?’

मलाई यी सबैको कुराले एक पटक सोच्न बाध्य बनाउँछ । विवाह, आखिर किन सबैलाई मेरो विवाहको यति धेरै चिन्ता ? मलाई त आफू बुढो भए जस्तो लाग्दैन । यो विवाहको कुरा मेरो घरमा मात्रै हुन्छ कि अरूकोमा पनि हुन्छ ? आमाबुबा इष्टमित्रको कुरा मानेर विवाह गर्न म तयार भए पनि मसँग विवाह गर्न को तयार होला र ? यो प्रश्न मनले मनलाई नै गर्छ । जवाफ कुन मनले दिने हो थाहा छैन ।

एउटा भनाई छ-‘जन्म, मृत्यु र विवाह जन्ममै लेखिएर आएको हुन्छ ।’ फेरी मनले मनलाई प्रश्न गर्छ ‘मेरो चाहिँ विवाह कहिले र कोसँग हुन लेखिएको छ ?’ ‘जन्म, मृत्यु र विवाह जन्ममै लेखिएर आएको हुन्छ भने अरूलाई यति धेरै मेरो विवाहको चिन्ता किन ?

विवाहको कुराले मलाई प्राय कक्ष १२ मा फर्काउँछ । बाल विकास पढाउनु हुने डेडराज बस्नेत सरले भन्नु भएको थियो- ‘जीवनको महत्त्वपूर्ण पाेइन्ट भनेको तीन वटा हुन्छन् । त्यो हो जन्म, मृत्यु र विवाह । जन्मँदा हामी कसरी जन्मियौं थाहा छैन । मर्दा पनि कसरी मर्छौ थाहा हुँदैन । एउटा आफूले थाहा पाएर गर्न भनेको विवाह हो । त्यसैले विवाह चाहिँ बुझेर, सोचेर, आफूले चाहेकोसँग र चाहे जसरी नै गर्नुपर्छ । बल्लबल्ल यो धर्तीमा टेकिएको छ, विवाह पनि अरूको करकापमा गरियो भने जीवनको अनुभव नै हुँदैन ।’

साथीसंगीसँग प्रेम र विवाहको बहस

साथीसंगीसँग भेट्दा होस् या चिया पसलमा चिया पिउँदा कहिलेकहीँ माया-प्रेम र विवाहको कुरा उठ्छ । साथीसंगी पनि विवाहप्रति खासै चासो देखाउँदैनन् । माया-प्रेममा परेकाे चार/पाँच वर्ष भएकाहरूले पनि ‘विवाह पनि गर्ने होर ?’ भन्ने तर्क गर्छन् । माया-प्रेममा परेकाहरूलाई विवाह चाहिँ कहिले गर्छौँ ? भनेर सोध्यो भने आफैलाई उल्टै प्रश्न गर्छन् । ‘विवाह किन गर्ने ?, विवाह नगरी चाहिँ बाचिँदैन र ? विवाह गरेर दु:ख पाउनु छैन ।’ यसै भन्छन् उनीहरू ।

घरमा विवाहको कुरा चल्दैन ? भनेर सोध्यो भने उनीहरूले आफ्नो घरमा विवाहको कुरा चल्दा आफ्नो आमाबुबालाई जवाफ दिएको सुनाउँछन् । एक जना मेरी सहकर्मी मित्रलाई यो प्रश्न गर्दा उनले भनिन्– ‘मेरो विवाहको कुरो घरमा चलेको ५/६ वर्ष अघि देखि नै हो । पहिला विवाहको कुरो लिएर जहिले पनि प्रेसर दिनुहुन्थ्यो, एक दिन मैले विवाहको कुरो जहिल्यै पनि नगर्नु भोलि जे पनि हुन सक्छ, भोलि छोरी देख्न चाहनु हुन्छ कि हुन्न भने, म त्यो दिन अलि टेन्सनमा पनि थिए । त्यसपछि विवाहको प्रेसर आएको छैन । अब त विवाह भन्ने कुरा गरिँदैन होला । विवाह गरेर के नै गर्नु छर ?’

विवाह गर्ने/नगर्ने दुवै पछुताउछन्

भन्छन्- ‘विवाह गर्न मान्छे पनि पछुताउछन् नगर्ने मान्छे पनि’, विवाह गरेर धेरै पछुताउने र विवाह नगरेर पछुताउने पनि धेरै भेटेकाे/देखेकाे छु । उमेरमा हुँदा विवाह नगर्ने निर्णाय गरेर बसेकाहरू पनि बुढेसकालमा भए पनि विवाह गरेकाे पनि देखेकाे छु ।

मेरै नीनी (फूफू)ले पनि ४८ वर्षको उमेरमा विवाह गर्नु भएको थियो । पहिला उहाँ विवाह नगर्ने निधो गर्नु भएको थियो । मर्ने बेला हरियो काक्रो भने जस्तै उहाँले पनि बुढेसकालमा विवाह गर्नुभयो । अहिले उहाँ पछुताउनु हुन्छ अनि हामीलाई अर्ती दिनुहुन्छ- ‘आखिर विवाह गर्नु नै पर्नेरहेछ, बेलैमा गर, आफू त बुढेसकालको बेला गरियो, छोराछोरी पनि भएन, बुढेसकालमा दु:ख पाइयाे ।’

मेरी नीनी मात्रै होइन अरू पनि धेरै भेटेको ढिलो विवाह गरेर पछुताउनेहरु । तर विवाह नगरेर पछुताउने मात्रै होइन विवाह गरेर पछुताउनुहरु पनि धेरै भेटेकाे/देखेको छु । हामीसँगै पढेका धेरै केटाकेटी साथीहरू विवाह गरिसकेका छन् । कुनै बेला बखतमा भेटभएको बेला उनीहरू भन्छन्- ‘बिहे गरे दु:ख पाइयो, बित्थामा बिहे गरियो। आफ्नो कति ठूलो-ठूलो सपनाहरू थियो सबै तुहियो ।’

विवाह गरेर पछुताउने केटीहरू मात्रै हुँदैनन्, केटाहरू पनि हुन्छन् । तर विवाह गर्नेहरू पछुताे मात्रै मान्दैनन् विवाह गरेर खु:सी पनि भएका छन् । हुन त विवाहप्रति सबैको आ-आफ्नै धारण छ । धेरै मेरा साथीहरू विवाहदेखि तर्किरहेको देख्छु । उनीहरू अहिले विवाहको कुरा सोच्न पनि नहुने बताउँछन् ।

परिर्वतित समय

हजुरबुबा हजुर आमा सुनाउनु हुन्छ- ‘हाम्रो त ११/१२ वर्षमै विवाह भएको थियो । तिमीहरूको उमेरको हुँदा त ३/४ वटा छोराछोरी भइसकेको थियो । तिमीहरू चाहिँ अब बुढो कन्या नै बस्ने भयौँ ।’

हुन त अहिले विवाहको स्वरूप र उद्देश्यमा समेत परिवर्तन आएको पाइन्छ । पहिले आफ्नो आमाबुबाले जोसँग भन्यो त्यहीसँग जति उमेरको भए पनि विवाह गर्नुपर्थ्याे । तर अहिले जोडी छनोट गर्ने तरिका फेरिएको छ  । पहिले जस्तो इच्छा विपरीत महिलालाई वनको बाटैबाटो घिसारेर लैजान पाइन्न । अहिले केटा वा केटीको मन्जुरी विना विवाह गराइदियो भने आफ्नै आमाबुबालाई पनि मुद्दा हालिदिन्छन् । अहिले विवाह मिनिमम २२/२४ कटेपछि मात्रै गर्नुपर्छ भन्ने मान्यता बस्दै आएको पाइन्छ ।

विवाह जीवनको महत्त्वपूर्ण संस्कारका साथै जीवन साथी साथमा जीनवरथ अघि बढेन कार्यको सुरुवात पनि हो । तर अहिलेको समयलाई नियाल्ने हो भने विवाह गर्ने क्रममा धेरै विकृति फैलिएको पाइन्छ । विवाह गरेकाे २/४ वर्ष वित्न नपाउँदै धेरै जोडीहरूको सम्बन्ध विच्छेद गर्ने क्रम बढेको पाइन्छ ।

देखावटी गर्दा पनि विकृति फैलिएकाे पाइन्छ । कतिपय युवा/युवतीहरू आफ्नो औकात भन्दा बढी विलासिताका बस्तुहरूको प्रयोग गरेर दुनियाँलाई देखाउँछन् । सापटी वा ऋण खोजेर कसैलाई देखाउनकै लागि भए पनि विलासिताका बस्तुहरूको प्रयोग गरेकाे पाइन्छ । यस्तो व्यवहार देखेर मानिसहरू तत्काल प्रभावित हुन सक्छ । तर यसले आफ्नो इमान्दारीतालाई पनि धरापमा पार्छ । र भविष्यमा दाम्पत्य जीवनमा पनि तितोपना ल्याउँछ ।

स्वतन्त्र

अहिले हामी स्वतन्त्र चाहन्छौँ, त्यसैले हामीले विवाहलाई ‘बन्धन’को रूपमा परिभाषित गर्ने गरेका छौँ । स्वतन्त्र जीवन बिताउन चाहनेहरूका लागि यस्तो बन्धन स्वीकार्य हुँदैन । उनीहरू विवाह गर्ने, पति वा पत्नीसँग आफूलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्यवहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भोग गर्नका लागि उनीहरू विवाह नगरी बस्न रुचाउँछन् ।

‘विवाह एक सम्झौता हो’ यसमा आफूले चाहेजस्तो, आफूले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्ठभूमि, फरक सोच र फरक प्रवृत्तिका महिला र पुरुष एकै हुन सक्दैनन् । विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोच, चिन्तन त्याग्नुपर्छ । अर्कोको कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले पनि स्वतन्त्र चाहनेहरू विवाह गर्न रुचाउँदैनन् ।

श्रीमानले घरपरिवालाई समय नदिने, मादक पदार्थ सेवन गर्ने, झगडा गर्ने, कुटपिट र श्रीमान् विदेश गएको बेला श्रीमती पर षुरुषसँग सम्बन्ध राख्ने । खाडीका पसिना बगाएर कमाएको पैसा लिएर टाप कस्ने अनि सम्बन्ध विच्छेद गरेका घटानाहरु हामीले विभिन्न सञ्चारमाध्यमबाट दिनहुँ देखिराखेका, सुनिराखेका हुन्छौँ, त्यसैले पनि विवाहप्रति अहिलेका युवायुवतीहरूमा वितृष्णा भएका हुन कि भन्ने पनि लाग्छ ।

अहिलको युवायुवतीहरू हतारमा विवाह गरेर फुर्सदमा पछुताउन चाहँदैनन् । भविष्यबारे नबुझेरै विवाह गरेर जिन्दगी नै अलपत्र पार्न चाहँदैनन् । जागिर खाने, कमाउने, जमाउने अनि मात्रै विवाह गर्ने सोचमा छन् अहिलेका युवायुवतीहरू । ‘एक ठाउँ काट्न दश पटक नाप्नु पर्छ’ भन्ने सोच्नमा छन् युवायुवतीहरू । यनकि विवाह गरिसके पछि पछुताउनु नपरोस् भन्ने सोच्छन् ।

विवाह गर्नै पर्छ ?

विवाह गर्नु नराम्रो होइन । विवाह गर्नै पर्छ भन्ने पनि छैन । सादय हामीलाई एक दिन पक्कै पनि विवाहको आवश्यकता पर्छ । माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भन्छन् विवाह पनि त्यस्तै हो । जीवनको सुखदुखमा साथ र सहयोग आदानप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् ।

एउटा पाङ्ग्राले मात्रै रथ र महिला विना पुरूषकाे जीवन र पुरूषा विना महिलाकाे जीवन चल्दैन । तर कुनै पनि कुरामा विचार नगरी विवाह गर्‍यो भने चाहिँ त्यसको परिणामको फल कस्तो हुन्छ भन्ने थाहा हुदैन । हरेक व्यक्तिले आफ्नो जीवन साथीको योग्यता, व्यवहार, शिक्षा, सम्झौता गर्न सक्ने क्षमता हुनु अति आवश्यक छ । जब दाम्पत्य जीवन सुखमय र शान्तसँगै बिताउन् सक्छन् तब मात्र जीवनको सार्थकता हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com