कुमार पौडेलको परिवारको दावी : घटना सुनियोजित हो



प्रकाशित मिति : Jul 12, 2019

काठमाडौं, २७ असार । दोहोरो भिडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ ।

शक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको षड्यन्त्रपुर्वक हत्या गरिएको दाबी गरेको हो । गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपुर्वक हत्या भएको परिवारको दाबी छ ।

मृतक पौडेलका भाई हरिकृष्ण पौडेलले प्रहरीसंग मुडभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाउनु भयो ।

उहाँले आफ्ना दाईको राजनीतिक जीवनको बारेमा स्वयम सरकारमा रहेकाहरु पनि जानकार रहेको बताउँदै झुटा आरोप लगाएर ठाडो निर्देशनमा मारिएको दावी गर्नुभयो । ‘यदि त्यो नियोजित हत्या थिएन भने बारादेखि धनुषासम्मको प्रहरी त्यहाँ कसरी पहिल्यै आईपुग्यो ।’–उहाँको प्रश्न थियो ।

सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको जनाउदै उहाँले चार ठाँउमा भाँच्चिएको हात नजिकै हतियार राखेको फोटोहरु आफुसंग प्रमाणको रुपमा सुरक्षित रहेको स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा मृतपौडेलकी श्रीमती कला पौडेलले पनि आफ्ना श्रीमान्लाई षड्यन्त्रपूर्वक मारेको दाबी गर्नुभयो । छानविन समितिले स्वतन्त्र रुपमा छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने उहाँको माग छ ।

श्रीमानलाई कुनै दबाव वा असूरक्षाको बारेमा कुनै जानकारी नभएको बताउँदै उहाँले भन्नुभयो,‘श्रीमानले पनि कुनै त्यस्तो अप्ठ्यारो छ भन्ने कुरा कहिल्यै गर्नुभएको थिएन ।’ दोषीलाई कानुनी कारवाही गर्नुपर्ने अनिमात्रै आफूहरुले न्याय पाउने उहाँको भनाई छ ।

त्यस्तै, मृतकका भतिजा राजकुमार पौडेलले आफ्ना काका दोषी भएको भए कसरी हजारौं मानिसहरुले उहाँको अन्तिम संस्कारमा सहभागिता जनाए ? भन्दै रचना गरिएको षड्यन्त्रको पर्दाफास गर्न आग्रह गर्नुभयो त्यस्तै, मृतक पौडेलकी दिदी लक्ष्मी पौडेलले यातना दिएर आफ्नो भाईको हत्या गराएको दाबी गर्नुभयो । उहाँले आफुहरुलाई कुनै जानकारी नै नदिई प्रहरीले पोष्टमार्टम गराएको पनि बताउनुभयो ।

आफुहरुलाई शव कुहिएको अवस्थामा दिइएको जनाउदै उहाँले अहिले सम्मपनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएकोमा आपत्ति जनाउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com