मानेभन्ज्याङको भ‌ँडारे खोलामा बाढी : सयौं सवारीसाधन अलपत्र, सुनकोशीमा पहिरो



प्रकाशित मिति : Jul 12, 2019
  • रामहरि श्रेष्ठ

ओखलढुंगा । निरन्तरको वर्षाका कारण ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ स्थित भँडारे खोलामा बाढी आउँदा सयौं सवारीसाधन अलपत्र परेका छन् । खोलामा एका-एक बाढी आएपछि काठमाडाैंबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बु आवतजावत गर्ने यात्रुहरु अलपत्र परेका हुन् ।

काठमाण्डौबाट आउने सवारीसाधन उदयपुरको घुर्मी बजारमा रोकिएका छन् भने काठमाडाैं जाने सवारीसाधन मानेभन्ज्याङ गाउँपालिका ६ भँडारे स्थित सडकमा रोकिएको प्रहरीले जनाएको छ । बाढीका कारण एउटा बस खोलामा फसेपछि ओखलढुंगाबाट प्रहरी प्रमुख पुष्पराज मल्लाको नेतृत्वमा उद्धार टोली त्यहाँ पुगेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

यता वर्षाका कारण घर मुनिबाट पहिरो खस्दा सुनकोशी गाउँपालिका ९ कोषहाटका भिम बहादुर तामाङको एउटा टहरो बगाएको छ । पहिरोले घरसमेत बगाउने अवस्थामा पुगेको भन्दै तामाङ परिवार त्रसित बनेका छन् । पीडित तामाङ अनुसार घर मुनिबाट खनिएको सडकमा पहिरो जादाँ घरलाई क्षति गरेको हो । गाउँपालिका प्रमुख रुद्ध प्रसाद अधिकारीले कोषहाटबाट प्रहरी टोली पठाइएको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको बताए ।

त्यस्तै गाउँपालिका ४ स्थित जैरुङमा पनि निरन्तरको वर्षाका कारण माथिबाट झरेको भेलबारी सहितको भंगालोका कारण चार घर स्थानीय जोखिममा परेको स्थानीय कुमार राईले बताए । उनीहरुलाई पनि सुरक्षित स्थानमा बस्न आग्रह गरिएको सुनकोशी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार बहादुर राईले बताए । निरन्तरको वर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा पहिरो तथा भेल-बाढिका कारण सडक-खण्डहरु अवरुद्ध भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com