ड्युटीमा रहेका चिकित्सकमाथि वडाध्यक्षको नेतृत्वमा आक्रमण, डडेल्धुरा अस्पताल अनिश्चितकालिन बन्द



प्रकाशित मिति : Jul 12, 2019

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि जनप्रतिनिधिसहितको समुहले आक्रमण गरेको छ । चिकित्सकमाथि नै आक्रमण भएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ ।

बुधबार दिउँसो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले जानकारी दिएका छन् । अमरगढी नगरपालिका–११ सल्लाघारीका मृतक रमेश खड्काको शव वडाध्यक्ष खड्काले परीक्षण नगरी लगेको अपस्पतालले जनाएको छ ।

यसअघि उपचारको क्रममा जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो । डडेलधुरा अस्पतालमा पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा जीवन खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आक्रमणपछि चिकित्सकले विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर आकस्मिक बाहेकका सेवा बन्द गरेका घोषणासमेत गरेका थिए ।

वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली गर्दै हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा खरेलले जारी गरेको विज्ञप्तिमा जनाइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com