विष्णु र लक्ष्मी सुत्ने ‘क्षीर सागर’ कहाँ पर्छ ? आजबाट सुरु भएकाे चतुर्मासभरि किन शुभकार्य गरिँदैन ?



प्रकाशित मिति : Jul 12, 2019
labellabel

विष्णु पुराणका अनुसार भगवान् विष्णु र उनकी पत्नी सुत्ने सागरलाई क्षीर सागर भनिन्छ । क्षीर अर्थात दूधको सागर के हो ? त्यो कहाँ थियो वा छ ? के यो सत्य हो वा कुनै मिथ मात्र हो ? यस्ता अनेक जिज्ञासा तपार्इँको मनमा पनि उत्पन्न भयो होला ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन विष्णु क्षीर सागरमा सुत्न जाने पौराणिक मान्यता छ । यसरी सुतेका भगवान् विष्णु दम्पती (पत्नी लक्ष्मी) कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी (ठूली एकादशी) का दिन उठ्ने विश्वास गरिन्छ । हरिशयनीका दिन तुलसीको बिरुवा रोपेर हरिबोधिनीका दिन तुलसीको विवाह गरिन्छ ।

कहाँ पर्छ क्षीर सागर ?

भनिन्छ- गंगा स्वर्गलोकबाट खस्दा त्यसको वेग भगवान् शिवको जटाले थामेको थियो । आजपर्यन्त गंगा नदी शिवकै जटाबाट उत्पन्न भएर बगेको मानिन्छ । शिवको निवासस्थान (लोक) कैलाश हिमालय पर्वत मानिएको छ । उता भगवान् विष्णुको निवासस्थान क्षीर सागर मानिन्छ ।

क्षीर सागर, जो मानसरोवर कुण्ड (ताल) को रुपमा समेत चिनिन्छ, यो कैलाश पर्वतबाट लगभग ४० किलोमिटर टाढा रहेको पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । मानसरोवर हाल तिब्बतमा पर्छ । कैलाश पर्वतकै काख (आसपास) रहेको यस तालको सतहको क्षेत्रफल ४१० वर्गकिलोमिटर रहेको छ । यसको अधिकतम गहिराइ ९० मी (३०० फिट) रहेको छ । यो उच्च भौगोलिक क्षेत्रमा अवस्थित छ । समुन्द्री सतहबाट करिब ४ हजार ५९० मिटरको उचाईमा अवस्थित यस तालकाे उत्तरमा कैलाश पर्वत पर्छ । तालको पश्चिममा राक्षस ताल रहेको छ ।

हिन्दू धर्मावलम्वीहरुको पवित्र तीर्थस्थल मानिने मानसरोवर बौद्धमार्गीहरुको पनि आस्थाको केन्द्र हो । हिन्दूहरुमा यो विश्वास छ कि जीवनमा एकपटक मात्र पनि यस तालको दर्शन गर्नाले मुक्ति पाइन्छ । यसमा एकपटक स्नान वा डुबुल्की मारेमा सीधै रुद्रलोक अर्थात स्वर्गमा स्थान पाइने विश्वास रहिआएको छ । कैलाश दर्शन यात्रा जाँदा बाटोमै पर्ने यो तालबाटै पनि कैलाशको दर्शन गरेर तीर्थयात्री धन्य हुन्छन् ।

पाैराणिक महिमा

कैलाशको माथितिर स्वर्ग र तलपट्टि नर्क रहेको विश्वास गरिन्छ । विष्णु पुराणका अतिरिक्त शिव पुराण, स्कन्द पुराण, मत्स्य पुराण आदिमा कैलाश अध्याय अन्तरगत कैलाश, मानसरोवर र गंगा नदीको उत्पतिबारे रोचक कथा तथा यिनको महिमा वर्णन गरिएको छ ।

क्षीर सागर अर्थात् मानसरोवरलाई रत्नको भण्डारका रुपमा समेत पुराणहरुमा वर्णन गरिएको छ । विष्णु भगवान् शेशनागको गद्दीमा क्षीर सागरमा सुतेको र पत्नी लक्ष्मीदेवी उनको सेवामा हर्दम निमग्न रहेको बताइन्छ । धनधान्यकी देवी लक्ष्मी समेत यही सागरबाट उत्पन्न भएको विश्वास गरिन्छ । यसकारण पनि क्षीर सागरलाई पवित्र मानिन्छ । भगवान विष्णु सर्वव्यापी भएर पनि मूल निवास क्षीर सागरमै रहेको मान्यता छ । संसारका सबै रत्न, वैभव सागरबाटै उत्पन्न हुने मत समेत रहेको छ ।

पुराणहरुमा देवता–दानवले समुद्र मन्थन गरेको कथा पढ्न पाइन्छ । त्यो यही क्षीरसागर अर्थात् मानसरोबर थियो भनिन्छ । मन्दराचल पर्वतको मदानी र वासुकी नागको नेती बनाएर क्षीर सागर मन्थन गर्दा त्यहाँबाट विभिन्न रत्न, विष र सर्मत निस्केको विश्वास गरिन्छ । मत अनुसार, क्षीरसागरबाटै कामधेनु गाई, कल्पवृक्ष, वारुणी देवी, अप्सराहरु आदि प्रकट भए ।

एकपटक मन्थन गर्दा कालकूट नामक विषको घडा निस्कियो र कल्याणहेतु शिवजे सो विष पिइदिए । पछि अमृतघडा हातमा लिएका ध्वन्वन्तरी (ऋषि) प्रकट भए भने अन्तिममा लक्ष्मी देवी पनि समुद्र मन्थनकै क्रममा प्रकट भइन् । दानवहरुले अमृत घडा खोसेर खान लाग्दा भगवान विष्णुले नै मोहिनी रुप धारण गरी त्यो अमृत जति सबै देवताहरुलाई मात्र पिलाए र देवताहरु अमर भए ।

चतुर्मास रहस्य

विष्णु क्षीरसागरका सुतेको समयलाई चतुर्मास भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशी सम्मको यी ४ महिना चतुर्मास हुन् । विष्णु–लक्ष्मी सुतेकै कारण यी ४ महिनाभरि कुनै पनि माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने धार्मिक मान्यता रहिआएको छ । अर्थात् यी ४ महिना व्रतका रुपमा मान्नुपर्ने मत र विभिन्न चाडपर्व समेत पर्ने भएकाले पूजाआजामा मानिसहरु निमग्न हुन्छन् ।

धर्मकर्म तथा व्रतमा निमग्न रहनेहरु तुलसीको बिरुवा रोपेपछि सात्विक आहार मात्र ग्रहण गरेर चतुर्मास व्रत बस्ने गर्छन् । यसरी चतुर्मास व्रत गर्नेले मासुजन्य पादार्थ खाँदैनन् । शाकाहारमा पनि मुला, भन्टा, मुसुरो, गहत, कुभिन्डो, ज्यामिर र भटमास खानु हुँदैन भन्ने मान्यता छ ।

चतुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेशजस्ता मांगलिक कार्य गरिदैँन । यी कार्य गर्न ज्योतिषीय मान्यताअनुसार मुहूर्त नै निस्कँदैनन् । चतुर्मासभरि कुनै पनि यस्ता शुभ मुहुर्त पञ्चांगले तय गर्दैन । चतुर्मास सकिएपछि भने माङ्गलिक कार्यहरूका लागि मुहूर्त निकालिन्छ ।

कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चक भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चारवटा नारायण मन्दिर (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनहरुकाे ठूलाे घुइँचाे लाग्छ । विष्णु ब्युँझिएकाे र मांगलिक कार्यका लागि समेत साइत सुरु भएकाे अवसरमा खुसियाली साथ पूजा-आराधना गरी सकारात्मक भाव प्रकट गरिन्छ ।

सात द्वीप र सागर

सप्तद्वीप : जम्बूद्वीप, प्लक्षद्वीप, शाल्मलद्वीप, कुशद्वीप, क्रौन्चद्वीप, शाकद्वीप, पुष्करद्वीप ।

सप्तसागर : खाराजल, इक्षुरस, मदिराजल, घृतसागर, दधिसागर, क्षीरसागर, मधुजल ।

सप्तपाताल  : अतल, वितल, नितल, गभस्तिमान, महातल, सुतल, पाताल ।

प्रस्तुति : राजेन्द्र तारकिणी


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com