‘देशको मुहार फेरिने गरी मन्त्रीहरु फेरौँ’



प्रकाशित मिति : Jun 20, 2019

सरकारका मन्त्रीहरु फेरिन सक्ने संकेत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । आज विहान पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा अध्यक्ष प्रचण्डले मन्त्रीमण्डल पूर्नगठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् ।

तर, सँग–सँगै प्रचण्डले अहिले नै सरकार पुर्नगठन गरिहाल्ने निर्णयमा हामी पुगिसकेका छैनौं, पनि भनेका छन् । राजनीतिज्ञको भाषा तपाई हाम्रो भाषा जस्तो नहुने रहेछ । प्रचण्डको मात्र होइ, प्रायः सबै राजनीतिज्ञको भाषा हो पनि र हैन पनि स्टाइलको हुने रहेछ ।

कोही नेता “भन्ने हामीलाई लागि राख्या छ” भन्छन् । यो झन् दोधारे र धरमरे भाषा हो । भनेको हो र ? भन्ने हामीलाई लागि राख्या छ पो भनेको भनेर तर्क गर्न सकिने वाक्य हो यो ।

सरकार पुर्नगठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ तर अहिले नै पुर्नगठन गरिहाल्ने भन्ने निर्णयमा पुगको छैनौ, प्रधानमन्त्रीले चाहेको बेला हुन्छ । आम मान्छेले यस्तो घुमाउरो कुरा कसरी बुझ्ने ? केही माननिय मन्त्रीज्यूहरुको कार्यशैलीका कारण सरकार आलोचित भएकाले मन्त्रीमण्डलमा हेरफेर गर्नुपर्ने देखिएको छ । प्रधानमन्त्रीसँग छलफल भैसक्यो । चाँडै टुंगो लगाउँछौ । को–को बदलिन्छन् भन्ने फाइनल भएको छैन तर, फेरबदल हुन्छ यति समय भित्र भनेर स्पष्ट भने पो बुझिन्छ ।

डिप्लोम्याटले जस्तो भाषा राजनीतिज्ञले बोल्दा बुझ्न नसकिने रहेछ । प्रसंग चलिहाल्यो अलिकति राजनीतिज्ञहरुले प्रयोग गर्ने दोधारे र अस्पष्ट भाषा वा वाक्यावंश बारे एक छिन् रमाइलो चर्चा गरौ है त । त्यसपछि यही विषयमा फर्कौंला । कुनै कुरा भनिसकेपछि केही राजनीतिज्ञहरु लाष्टमा थप्नु हुन्छ “भन्ने हाम्रो ठहर छ” । यो भाषा पनि निकै चलाखी पुर्ण भाषा हो । यसो–यसो भएको हो, भने भैहाल्यो नि । “भन्ने हाम्रो ठहर छ मात्र भनेको हु” भनेर बच्ने ठाँउ राखिएको भाषा हो यो ।

अर्को वाक्यांश छ “भन्न चाहन्छु ।’’ ए बाबा भन्न चाहान्छु किन भन्नु प¥यो ? भन्छु भने हुन्न ? सरकारलाई म भन्न चाहन्छु कि मूल्यवृद्धि अचाक्ली भयो रे । यसको मतलब डिप्लोमेडिक भाषा प्रयोग गर्नुको अर्को कारण पनि छ । प्राय हाम्रा राजनीतिज्ञहरुलाई बोलेको कुरा कति दिन टिक्छ भन्ने आँफैलाई थाहा हुँदैन सायद ।

त्यसैले गर्दा पनि होला कि भोलि आफ्नो बोली आँफैले पूरा नगर्न सकिने स्थिति आउनु भन्दा पहिले नै अस्पष्ट र धरमरे भाषा प्रयोग गरिन्छ । यस अघि प्रधानमन्त्री ओलीले प्रचण्डलाई घोच्नुसम्म घोचेर बोलेको छन् । प्रचण्डले पनि ओली भन्न केही बाँकी राखेका छन् जस्तो लाग्दैन ।

सायद अब दुवैलाई बानी परे जस्तो छ । कटाक्ष गरेकालाई कति खेर अंगालो हाल्नुपर्ने हो ठेगान छैन भन्ने जानेर होला राजनीतिज्ञहरुको भाषा घुमाउरो हुन थालेका छन् । खैर अब बिषय तिर नै जाउ, मन्त्रीमण्डल फेरबदलले सरकारलाई नयाँ उर्जा दिन सक्छ ।

एक बर्षको मूल्याङ्कन गरेर जनगुनासोलाई यथोचित सम्बोधन गर्न सकियो भने साँच्चै नै प्रधानमन्त्रीका लागि उपलब्धिपूर्ण कार्यकाल हुन सक्छ । पेपरलेस, वायरलेस जस्ता सेन्सलेस कुराको प्र्रचार गर्नु भन्दा आम जनतालाई र तिनको दैनिक जीवनलाई सम्बोधन गर्न सकिने काम गरे जनताले सरकारको फेरी वाह–वाही गर्नेछन् ।

आजपनि घुस नदिई काम हुँदैन, यो देशका धेरै कार्यालयमा । विना कारण फाइल अड्काएर आम सर्वसाधारणलाई हैरान पारिन्छ । सिष्टमले भन्दा कसैको एक कलले काम गर्छ आजपनि । लेनदेनमा फेसका लाखाँै जनताको पैसा खाएर घरको तल्ला थप्नेहरुलाई क्या हाइसन्चो छ यो देशमा !

पुलिसले केश लिदैन, अदालतमा दिन प्रमाण पुग्दैन । सोझा–साझालाई उल्टो मुद्धा हालेर हुँदा खादाको जीवनलाई नर्क बनाइएको छ । कसले हेर्ने यस्ता लाखौ पीडितहरुलाई ? ठाँउ –ठाँउमा पैसा खुवाएर, विदेशमा चेलिबेटी बेच्नेहरु त्यही दिल्लीका गल्लीमा छाती फुलाएर होटल–होटलमा बसेका छन् ।

मानव तस्करीको जालमा फसेकाहरु हजारमा होइन लाखमा छन् । सरकार ४–५ जना विचौलिया र व्यापारीलाई सिंहदरबार बालुवाटरमा सजिलै प्रवेश दिन्छ । सिंहदरबार गेट बाहिर मन्त्री भेट्न बसेकाहरुको पालो कहिले आउँछ ?

सिंहदरबार गेटमा ओर्लेर बाहिर ओठतालु सुकाएर बसिरहेका सर्वसाधारण जनतलाई भेटेर मात्र भित्र पस्ने कुनै मन्त्री छन् ? यो गरिब मुलुकमा एउटा गरिबले आँफूलाई भोट दिएको मन्त्री भेट्न कसैको फोर्स लगाउनु पर्छ ।

मन्त्रीमण्डल फेरिन्छ कि फेरिन्न थाहा छैन तर फेरियो भने अब बन्ने मन्त्रीहरुलाई जनताले सजिलै भेट्न सकुन् । स्वार्थ समूह, व्यापारी र विचौलिया भेट्ने समय जनतालाई दिन सकियो भने यही मन्त्रीमण्डल पनि तगडा हुन सक्छ ।

अनुहार मात्र फेर्ने भए यिनै ठीक छन् गोरा चिल्ला भैसकेका, टिभीमा हेर्दा पनि हिरो, हिरोइन झै देखिन्छन् । भो फेर्नै परेन । हैन कार्यशैली फेर्ने हो भने आँट गरौ प्रधानमन्त्री ज्यू । मरिलानु केही छैन । योङ, ड्यासीङ, भिजनरी, बोल्ड, डाइनामिक मान्छे पार्टी भित्रै होलान, नभए आउट सोर्स गरौ, खोजौ, ल्याऔ ।

चिल्ला भैसकेकाहरुलाई हटाएर, फुस्राहरुलाई फेरी चिल्ला मात्र बनाउन चाही मन्त्रीहरु नफेरौँ । उहाँहरुलाई राम्रो देखाउन हामी टेलिभिजनवालाहरुलाई फेरी क्यामेराको एङ्गल र लाइट मिलाउन मात्र झण्झट हुन्छ ।” मन्त्रीहरु फेराैँ तर देशको मुहार पनि फेरिने गरी । मात्र मन्त्रीहरुको मुहार फेरिने गरी होइन ।”


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com