रेमिट्यान्स आम्दानी उपभोगमा खर्च हुँदा व्यापार घाटा बढ्यो



प्रकाशित मिति : Jun 20, 2019

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आम्दानी ७ खर्ब २५ अर्ब भन्दा बढी भएको छ । तर उक्त आम्दानी उपभोग्य क्षेत्रमा खर्च हुँदा व्यापारघाटा गत वर्षभन्दा झण्डै २० प्रतिशतले बढेको छ । अर्थविद्हरु पनि व्यापार घाटा बढ्दै जानुमा उत्पादन नहुनु र रेमिट्यान्स उपभोगमा खर्च हुनु भएको बताउँछन् ।

आर्थिक वर्ष २०७५/७६ को दश महिनामा कुल वस्तु व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । जुन गत वर्षको भन्दा १९ दशमलव ७ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार बैशाख सम्म निर्यात आयात अनुपात ६ दशमलव ७ प्रतिशतमा सिमित भएको छ । यो तथ्याङ्क गत वर्ष भन्दा कम हो ।

चालु आर्थिक वर्षको १० महिनामा आयात निर्यातको अवस्था

देशमा औद्योगीक क्षेत्रको उतपादनमा अपेक्षाकृत अनुपातमा वृद्धि नहुँदा आयात गरेर उपभोग गर्नुपर्ने अवस्था आउनुले व्यापारघाटा बढेको अर्थविद्को तर्क छ ।

निर्यातजन्य वस्तुको उत्पादन हुन नसक्नु र त्यस क्षेत्रमा लगानी समेत बढ्न नसक्नुले व्यापार घाटालाई लामो समय सम्म कम गर्न नसक्ने तथ्याङ्कमा देखिन्छ । अहिले जिडिपीको आकारको २५ प्रतिशत बराबर रेमिट्यान्स आउँछ । तर उक्त रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा भन्दा उपभोगमा खर्च हुँदा व्यापारघाटा चुलिदै गएको तर्क समेत अर्थविदको छ ।

चालु आर्थिक वर्षमा रेमिट्यान्सबाट मात्रै ७ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ भित्रिएको छ । जुन गत वर्ष भन्दा झण्डै १९ दशालव ६ प्रतिशतले बढी हो । तर रेमिट्यान्सबाट भएको आम्दानी भन्दा बढी उपभोग, आयातबाट भएको छ ।

जसले गर्दा चालु खाता घाटा अहिलेपनि २ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ छ भने शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा छ । यस्तो स्थितिमा उपभोग्य वस्तुको उत्पादन बढ्न नसक्नु र रेमिट्यान्सबाट आएको रुपैयाँ उपभोगका लागि खर्च हुनुले व्यापार घाटा अझै बढ्दै जाने छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com