नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निमार्णको जिम्मा जापानी कम्पनी हाज्मालाई



प्रकाशित मिति : Jun 13, 2019

काठमाडौं । ४.५ किलोमिटरको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ठेक्का जापानी कम्पनीले पाएको छ । बहुप्रतिक्षित सुरुङमार्ग निर्माणका लागि चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा रहे पनि जापानी हाज्मा कम्पनीले पाएको हो ।

अब हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग बनाउनेछ । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएको र सोही अनुसार हाज्मा र आन्दोलाई जिम्मा दिन लागिएको सडक विभागले जनाएको छ ।

हाज्मा कम्पनीको ठेक्का रकम कम र सो रकममा पनि ७० करोड रुपैयाँ घटाउन मन्जुर भएपछि निर्माणको ठेक्का उसैलाई दिने निर्णय भएको सडक विभाग वैदेशिक महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

असार मसान्तसम्ममा कम्पनीसँग ठेक्का सम्झौता भइसक्ने र आगामी हिउँदबाटै काम सुरु गरी ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम पूरा हुने जनाइएको छ ।

हाज्माले कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको छ । हाज्माले लिएको सबै काम समयमा नै सकिएको देखिएका कारण नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम पनि निर्धारित समयमा नै सक्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com