चेपाङ मार्गलाई जोड्ने कृषि सडकको मन्त्री लामाद्धारा उद्घाटन



प्रकाशित मिति : Jun 12, 2019
  • सुरेन कुवँर

चितवन, जेठ २९ । राप्ती नगरपालिका वडा नम्बर ४ डडुवा चोकदेखि शिखर डाँडासम्मको कृषि सडक सञ्चालनमा आएको छ । करिब १६ सय मिटर लम्बाई रहेको कृषि सडकको बुधबार एक कार्यक्रमकाबीच प्रदेश नम्बर ३ का भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो ।

मन्त्री लामाले जनतालाई अति आवश्यक पर्ने यस्ता सडकलाई प्रदेश सरकारले प्रथामिकतामा राख्ने गरेको बताउनुभयो । जनताले दिएको म्यान्डेड अनुसार नै विकासको कार्यलाई अगाडि बढाउन अघि बढिरहेको उहाँको भनाई थियो ।

१ हजार २ सय २० मिटर लागत अनुमानमा प्रदेश नम्बर ३ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले रु ४६ लाख ६ हजार सडकका लागि छुटाएको थियो । सोही रकममा कृषि मार्गलाई तोकिएको लम्बाई र चौडाईभन्दा बढी हुने गरी निर्माण गर्न सकिएको शिखर हरियाली सामुदायिक वनका अध्यक्ष तथा निर्माणकर्ता केदारप्रसाद आर्चायले जानकारी दिनुभयो ।

मन्त्रालयबाट १२ सय २० मिटरको लम्बाईका लागि निर्माण सम्झौता भएको थियो, अध्यक्ष आर्चायले भन्नुभयो,‘ तोकिएको लम्बाईभन्दा ४ सय मिटर बाटो लामो भयो । चौडाई पनि ५ मिटर ग्रावेलसहित ७ मिटर बन्नुपर्ने भएपनि ६ मिटर उच्चस्तरीय ग्रावेल राखेर ९ मिटर बाटो निर्माण गरेका छौँ ।’

अध्यक्ष आर्चायले आगामी वर्ष यस मार्गलाई नालासहितको कालोपत्रे गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । यो मार्गले चेपाङमार्गलाई जोड्ने भएकाले मेलेखु सहजै निस्कन मिल्ने भएको छ । यो मार्ग सञ्चालनमा आएसँगै चेपाङवस्ती र राप्ती नगरपालिका वडा ४ डडुवा आवत जावतमा हुने समस्या हटेर गएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com