प्रदेश समन्वय परिषदको बैठक आजबाट हेटौँडामा सुरु



प्रकाशित मिति : Jun 12, 2019
  • देवराज पन्त

मकवानपुर, जेष्ठ २९ । प्रदेश ३ को प्रदेश समन्वय परिषदको बैठक आजबाट हेटौँडामा सुरु भएको छ । प्रदेश ३ का १३ जिल्लाका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाऊँपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको सो बैठक भोलि सम्म चल्ने छ ।

बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले केही स्थानीय सरकारहरुले आफूलाई नै सर्वोपरि सोच्न थालेको गुनासो गरेका छन् । स्थानीय सरकार प्रदेश तथा संघीय सरकारसँगको सहकार्य र समन्वय बिना नै आफ्नै ढंगले मात्रै चल्दा विकास र समृद्धिको बाधक बन्ने बताएका छन् ।

तीन वटा सरकार तीन तर्फ फर्कँदा विकास हुनै नसक्ने र स्थानीय तहले समन्वय नगरेकाले कतिपय स्थानीय तहले बनाएको कानुन प्रदेश सरकारलाई पनि थाहा नभएको मुख्यमन्त्री पौडेलको भनाई रहेको छ । आजको उद्घाटन सत्रमा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ र आन्तरिक मामिला मन्त्री शालिकराम जम्मकट्टेलले मन्तव्य राखेका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सुरु भएको बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा अन्तर्गतका संसदीय समितिका सभापतिहरु, जिल्ला समन्वय समितिका प्रमुखहरुसहित प्रदेश ३ मा रहेका १ सय १९ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com