यशोधरा गाँउपालिकालाई बालमैत्री बनाइदै



प्रकाशित मिति : Jun 12, 2019
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २९ जेठ । सरकारको नीति अनुरुप जिल्लाको यशोधरा गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषणा कार्यको प्रारम्भिक चरण अगाडि बढाइएको छ । गाँउपालिकाको आयोजनामा तौलिहवामा दुई दिवशिय बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धी गाँउपालिका स्तरिय अभिमुखीकरण आयोजना गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को ‘ग’ को विकास कार्य सम्बन्धी व्यवस्थाको २९ नम्बर बुदाँमा उल्लेख भएको वडा बालमैत्री बनाउने व्यवस्था अनुरुप गाँउपालिकालाई बालमैत्री बनाउन आवश्यक तयारी थालिएको हो ।

अभिमुखीकरणमा गाँउपालिकाका जन प्रतिनिधि, वडा अध्यक्ष, बिद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, स्वास्थ्य सेवा प्रदायक, बाल समूहका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र नेपाल प्रहरीका प्रतिनिधि रहेका छन् ।

बालमैत्री स्थानीय शासन घोषणाका तीन चरण अबलम्बन, कार्यान्वयन र घोषणा मध्यको प्रारम्भिक चरणका रुपमा अबलम्बनको कार्य अघि बढाइएको बालमैत्री स्थानीय शासनका राष्ट्रिय तालिम सहजकर्ता बिष्णु चौबेले जानकारी दिनुभयो । अभिमुखीकरणमा बालमैत्री अभिमुखीकरण बारे जानकारी, सिएफएलजी गाँउपालिकास्तरीय समिति गठन र नतिजामुखी कार्ययोजना निर्माण, बालमैत्री सम्पर्क व्यक्ति छनौट र घोषणाका लागि समय निर्धारण तथा सामूहिक हस्ताक्षरको कार्य हुने चौबेले जानकारी दिनुभयो ।

गाँउपालिकालाई बालमैत्री बनाउने अभियान सफल पार्न सबैसँग समन्वयत्मक रुपमा अगाडि बढ्ने गाँउपालिका उपाध्यक्ष कन्यावती उपाध्यायले बताउनुभयो । उपालिकामा जनशक्ति अभाव रहे पनि अभियानलाई पूर्ण प्रयास गरिने गाँउपालिका अध्यक्ष गृजेश कुमार पाण्डेयले बताउनुभयो ।

गाँउपालिकालाई साक्षर गाँउपालिका घोषणा गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाउनुहुँदै घोषणा अभियान सफल पार्न सबैको सहकार्य र सहयोग आवश्यक रहेकोमा अध्यक्ष पाण्डेयले जोड दिनुभयो । १० वटा स्थानीय तहका ७० वडा रहेको कपिलवस्तु जिल्लामा हालसम्म शिवराज नगरपालिकाको वडा नम्बर ९ मात्रै बालमैत्री वडा घोषणा भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com