कमिसनतन्त्र र भ्रष्टाचारले तराईकाे विकास प्रभावित भयो : नेता नेपाल



प्रकाशित मिति : Jun 12, 2019
  • कृष्ण थपलिया

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले तराईमा कुल बिकास वजेटको २५ प्रतिशत पनि कामहुन नसकेको बताउनुभएको छ । कमिसनतन्त्र र भ्रष्टाचारले तराईमा विकास प्रभावित पारेको उहाँको तर्क रहेको थियो ।

सर्लाही सदरमुकाम मलङ्गवामा बुधवार नेकपाको जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले विकासका कामगर्दा हुने कमिसन, भागबण्डा र अनियमितताले गुणस्तरीय काम हुन नसकेको बताउनुभयो ।

उहाँले सर्लाहीको नवलपुर–मलङ्गवा सडकमा पनि यहीँ अवस्था देखिएको भन्दै गलत गर्ने ठेकेदारलाई कानुनी दाएरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । सो सडकहुँदै सदरमुकाम मलङ्गवा पुग्नु भएका नेपालले सडकमा गुणस्तरहीन काम भएको भन्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

वरिष्ठ नेता नेपालले पछिल्लो समय चिनी उद्योगी मालामाल हुने र उखुको भुक्तानि लिन किसान भने रुनुपर्ने अवस्था रहेको भन्दै यस प्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । उखु किसानको समस्या समाधानमा सम्वन्धित पक्ष र सरकार लाग्नुपर्छ, नेता नेपालले भन्नुभयो ।

अर्को प्रसङ्गमा बोल्दै वरिष्ठ नेता नेपालले तराईमा अहिले पनि बाध्यतामा रहेका नागरिकलाई थोरै रकम ऋण दिएर दशौ गुणाको फर्जी कागज बनाउने प्रवृत्ती रहेको भन्दै कार्यकर्तालाई यस्ता प्रवृत्तीको अन्त्यको लागि अग्रसर हुन आग्रह समेत गर्नुभयो ।

उहाँले मधेसलाई माया गर्ने पार्टी नेकपामात्रै भएको दावी गर्दै यस क्षेत्रको विकासका लागि तराई मधेस समृद्धि कार्यक्रम लागू गर्ने, सिँचाईको सुविधा उपलब्ध गराउने, हुलाकी सडकको स्तरोन्नति गर्नेजस्ता कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको दाबी गर्नुभयो ।

नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तको अध्यक्षतामा सदरमुकाम मलङ्गवा नगरपालिका–३ मा तीन कठ्ठा जग्गामा ५६ लाख लागतमा निर्मिति पार्टी कार्यालयको उद्घाटन गरिएको छ । सो अवसरमा पार्टी कार्यालय स्थापनामा सहयोग गर्नुहुने जग्गादाता गोकुल साह, रतन रञ्जितकार, पूर्व सांसद द्वोय कमलादेवी महतो र रञ्जना सरकार र मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com