फरक क्षमता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण



प्रकाशित मिति : Jun 12, 2019
  • सुरेश श्रेष्ठ,

दाङ । राप्ती बहिरा संघ दाङको समन्वयमा फरक क्षमता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण तथा अपांगता अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–५ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा वडा स्तरिय अपांगता समन्वय समितिको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा उपस्थित तुलसीपुर उपमहानगरपालिका वडा नं–५ का वडा अध्यक्ष विरेन्द्र शाहले हरेक प्रकारका फरक क्षमता भएका व्यक्तिहरुको पनि सम्मानका साथ सामान्य ब्यक्ति सरह समाजमा बाँच्न पाउनु पर्ने अधिकार रहेको बताउनुभयो । त्यस्तै उहाँले फरक क्षमता भएका व्यक्तिहरुको हक–हित र आय–आर्जनमा सहयोग गरी स्वरोजगार बनाउनका लागि वडाले बजेट तथा कार्यक्रमहरु बनाउँदै अगाडि बढ्ने पनि बताउनुभयो ।

कार्यक्रमका प्रशिक्षक प्रतिमा शर्मा र देवा डाँगीले फरक क्षमता भएकाहरुका लागि परिचयपत्र बनाउने प्रक्रिया, परिचयपत्रको महत्व, अधिकार ऐन तथा नीतिगत व्यवस्थाहरुको बारेमा सहजिकरण गर्नुभएको थियो । यसै कार्यक्रमकाबीच १ जनालाई ट्राइसाईकल, १ जनालाई ह्वीलचेयर, २ जनालाई बैशाखी र २ जनालाई एल्बो कर्चिच हस्तान्तरण गरिएको थियोे ।

समन्वय समितिका सचिव हरिकला भण्डारीले सहजिकरण गर्नुभएको यस कार्यक्रममा ६० जना भन्दा बढीको सहभागीता थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com