बिटा थाइलेसिया पीडित बालिकालाई खाजा खर्च कटाएर संकलण गरिएको रकम हस्तान्तरण



प्रकाशित मिति : Jun 12, 2019
  • मनोज कुमार श्रीवास्तव,

कपिलवस्तु, २९ जेठ । बिटा थाइलेसिया नामक रोगबाट प्रभावित भएकी कपिलवस्तुकी एक बालिकाका लागि तौलिहवाका युवाहरुले विद्यार्थीबाट खाजा खर्च कटाएर संकलन गरिएको सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । जिल्लाको बुद्धभूमी नगरपालिका वडा नम्बर–३ की ६ वर्षीया गृष्मा खनाललाई जन्मिएको दुई महिनादेखि सो रोग देखिएको हो ।

तौलिहवा स्थित बाल सेना ग्रुपले सामाजिक सञ्जाल र विभिन्न विद्यालयका विद्यार्थीले खाजा खर्च कटाएको सहयोग रकम बापतको १ लाख ६१ हजार रुपैयाँ बालिकाका बाबु श्रीधर खनाललाई हस्तान्तरण गरेको हो । बाल सेना ग्रुपका अध्यक्ष शिवशंकर तमोली, कपिलवस्तु नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष सुदिप पौडेल, तौलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ता र समुहका सदस्य भानु चतुरबेदी लगायतले खनाललाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग रकम बुझदै गृष्माका बाबु श्रीधरले छोरीलाई जन्मिएको दुई महिनापछि नै सो रोगको संक्रमण देखिएको जनाउनुहुँदै पहिले मासिक १ पोका रगत दिनु पर्नेमा अब भने प्रत्येक २० दिनमा एक पोका रगत दिनु परेको बताउनुभयो । छोरीको उपचार भारतको बेंगलोरमा भैरहेको जनाउनुहुँदै बोन म्यारोको ट्रान्सप्लान्ट गरेर गरिनले उक्त उपचारका लागि भारतीय २२ देखि २५ लाख खर्च लाग्ने अस्पतालले जानकारी दिएको खनालले बताउनुभयो ।

आफनो न्यून आर्थिक अवस्थाका कारण छोरीको उपचार हुन नसकेको बताउँदै उपचारका लागि सहयोगी हातहरुको सहयोगका लागि उहाँले अनुरोध गनुभयो । हालसम्म करिब ५ लाख रुपैया सहयोग संकलन भएको जनाउनुहुँदै युवाहरुको सहयोगले छोरीको उपचारमा केही हदसम्म सहयोग मिल्ने उहाँको भनाइ थियो ।

बालिकाको उपचारका लागि तत्कालै ५ हजार रुपैया सहयोग गरेका वडा अध्यक्ष पौडेलले आफूले आवश्यक सहयोगका लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बालिकाको उपचारका लागि सामाजिक सञ्जाल मार्फत सहयोग जुटाउने कार्य सँगै विभिन्न विद्यालयमा पुगेर विद्यार्थीले खाजा खर्चबाट कटाएर दिएको सहयोगको रकम हस्तान्तरण गरिएको बाल सेना ग्रुपका अध्यक्ष शिवशंकर तमोलीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com