उपत्यकाको फोहर स्थायीरुपमा ब्यवस्थापन गर्ने भनिएको बञ्चरेडाँडामा अझै ‘डम्पिङ साइट’ बनेन



प्रकाशित मिति : Jun 12, 2019

नुवाकोट । सरकारले उपत्यकाको फोहोर स्थायीरुपमा ब्यवस्थापन गर्न तय भएको स्थान बञ्चरेडाँडामा स्थायी संरचनाको अभावमा डम्पिङ साइट बन्न सकेको छैन ।

पहिले नुवाकोट ककनी गाउँपालिका–२ सिसडोल र विसं २०६२ मा वडा नं ३ ओखरपौवामा अस्थायी फोहर फाल्ने र त्यसको तीन वर्षपछि धादिङको धुनेवेशी नगरपालिका–१ स्थित बञ्चरेडाँडामा स्थायीरुपमा फोहर फाल्ने संरचना बनाउने भने तापनि अझै बनेको छैन ।

बञ्चरेडाँडामा स्थायी संरचना बनाउन नसक्दा अव्यवस्थित फोहर व्यवस्थापनले गर्दा त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर बन्दै गइरहेको छ । फोहर व्यवस्थापनका लागि सरकारले उक्त ठाउँको एक हजार ७८१ रोपनी जमीन अधिग्रहण गरे पनि स्थायी संरचना अझै तयार पारेको छैन । ती अधिग्रहण गरिएको जग्गाको मुआब्जासमेत सरकारले दिइसकेको छ । असारसम्म बञ्चरेमा स्थायी संरचना बनाएर फोहरलाई व्यवस्थापन गर्ने भने तापनि अझै बनेको छैन ।

उक्त ठाउँमा काठमाडौँको फोहर ५० वर्षका लागि व्यवस्थापन गर्न सकिन्छ । शुरुमा काठमाडौँ महानगरपालिकाको फोहर फाल्ने भने पनि पछि उपत्यकाका १८ वटा स्थानीय तहका फोहर फाल्न थालिएको छ ।

पाँच वर्षभित्र स्थायी संरचना बनाएर फोहर व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म नबनाएकाले जनजीवन कष्टकर बनेको धुनेवेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए । उक्त ठाउँमा विसं २०६२ देखि काठमाडौँ उपत्यकाको फोहर फाल्ने गरिएको छ । दुई वर्षमा अस्थायीरुपमा ककनीको ओखरपौवा र सिसडोलमा फोहर फाल्ने र त्यसपछि तीन वर्षमा बञ्चरेडाँडामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार निर्माण गरी फोहर व्यवस्थापन गर्ने भनिएकामा १० वर्ष बित्न लाग्दा पनि अझै संरचना तयार पारिएको छैन ।

“स्थायीरुपमा फोहर व्यवस्थापनका लागि अझै काम शुरु गरिएको छैन”, उनले भने, “अस्थायीरुपमा फोहर व्यवस्थापन गर्नाले यहाँका मानिसको स्वास्थ्यमा असर परिरहेको छ ।” यही असारसम्म स्थायी संरचना बनाउने प्रतिबद्धता गरे पनि त्यो पूरा नहुने देखिन्छ ।

अहिले रहेको अस्थायी व्यवस्थापन ककनीमा गरिएको छ । ककनीको ओखरपौवामा रहेको अस्थायी फोहरले धादिङका जनता बढी मारमा परेका छन् । उक्त क्षेत्रका बाटोमा हिँड्दा फोहरको दुर्गन्ध आउने गर्दछ । गिद्ध, चिल र कागले फोहर टिपेर मानिसका घरघरमा पु¥याउने गरेको नगर प्रमुख आचार्यले बताए ।

यस्तै फोहरको लेदो बगेर खोलामा मिसिन्छ । उक्त खोलाको पानी न गाईबस्तुलाई खुवाउन हुन्छ न खेतमा हाल्नका लागि । खोलाको पानी गाईवस्तुले खाए पनि मर्ने र खेतमा हाल्नाले बालीसमेत मर्ने गरेको उनी बताउछन् । बञ्चरेडाँडामा बन्ने स्थायी फोहर व्यवस्थापनबाट फोहरबाट मल बनाउने, ग्यास निकाल्न सकिने भए पनि अझसम्म कुनै ध्यान जान सकेको छैन ।

ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले दुई वर्षका लागि फोहर फाल्न भनिएको ठाउँमा १० वर्षसम्म पनि फाल्ने गरेको बताए। “दुई वर्षका लागि भनिएको ठाउँमा अझै पनि फोहर फालिँदैछ”, उनले भने, “फोहरको दुर्गन्धले गर्दा स्थानीयवासी आफ्नो बासस्थान छाडेर अन्यत्र जान थालेका छन् । चाँडोभन्दा चाँडो बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्नुपर्दछ ।” उनका अनुसार फोहर गर्दा दक्षिणतर्फका मानिस बढी प्रभावित भएका छन् ।

गाउँपालिका अध्यक्ष लामाले सिसडोल र ओखरपौवाका २५ जनालाई त्यहाँको फोहरले क्यान्सर रोगसमेत लागेकाले गाउँपालिकाबाट उपचार खर्च दिएको जानकारी गराए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पप्रसाद कँडेलले स्थायी संरचना बनाउने प्रक्रिया शुरु गरिएको जानकारी गराए।

उनका अनुसार विदेशबाट कारखाना ल्याई मल, ग्यास बनाइने छ । “प्लान्ट बनेपछि यहाँका जनतालाई पनि सहज हुनेछ”, उनले भने, “केही वर्षका लागि काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिन्छ ।” अधिग्रहण गरिएको जग्गामा फोहर व्यवस्थापन (डम्पिङ साइट) बनाउनेमा भेदभाव गरिएको छ । ओखरपौवा र सिसडोलमा दुई वर्ष फोहर व्यवस्थापन गर्ने र त्यसपछि बञ्चरेडाँडामा स्थायी बनाउने सहमति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com