गिट्टी कुटेरै आफु र भाइ-बहिनीलाई पढाउछन् विकट कर्णालीका बालबालिका



प्रकाशित मिति : Jun 12, 2019

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेत पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएकी छन् । विकट कर्णालीको त्यसैमाथि पहाडी जिल्ला जाजरकोटमा जन्मेकी पुष्पा गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा आफैँ गिट्टी कुटेर पढाइ खर्च जुटाउँने गरेकी हुन्।

“रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च जुटाउनका लागि बाध्य भएर गिट्टी कुट्ने गरेकी हो ।” उनले भनिन् । आफुले कमाएको पैसाँले गिट्टी कुटेरै कमाएको रकमबाट भाइ, बहिनीकोे पढाइ खर्चसमेत धान्ने गरेको उनले बताइन् ।


जाजरकोट बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने छात्रा पुष्पा बस्नेत, सुनिता बस्नेत र कौशिला बस्नेत पढाइसँगै गिट्टी कुट्दै । गिट्टी प्रतिबोरा रु १२० मा बिक्री गरेर पढाइ खर्च चलाउँदै आएको बताएका छन् । तस्वीर : हेमन्त केसी । रासस

सोही ठाउँका सुनिता बस्नेतले पनि पढाइ खर्च जुटाउनका लागि गिट्टी नै कुट्ने गरेकी छिन् । उनले गिट्टी कुटेर प्रतिबोरा रु १२० कमाउने गरेकी छिन् । दैनिक चार बोराभन्दा बढी गिट्टी कुट्ने गरेको बताउँदै उनले त्यसबाट प्राप्त भएको आम्दानीले कापी, कलम र अन्य व्यक्तिगत खर्च गर्ने गरेको बताइन् । उनीसँगै दैनिक गिट्टी कुट्ने अर्की छात्रा पुष्पा बस्नेतले आफूले कमाएको रकमबाट भाइ, बहिनीको पढाइ खर्चसमेत धान्ने गरेको छ ।

यी त कही प्रतिनिधिमूलक पात्रमात्र हुन् । शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुताजस्ता विषयलाई नेपालको संविधानले नागरिकको मौलिक हकअन्तर्गत राखेको भए पनि गरीबी र विपन्नतामा बाँचिरहेका बालबालिकाले आधारभूत शिक्षा हासिल गर्न पाएका छैनन् ।

सम्पन्न घर परिवारका बालबालिका सुविधायुक्त महँगो विद्यालयको पढाइमा प्रतिस्पर्धा गरिरहेका छन् । जाजरकोटमा मजदूरी गर्ने बालबालिकाको सङ्ख्या यति छ भन्ने कुरा यकिन नभएको स्थानीय सरकारको मताहतमा रहेका महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com