मुस्ताङमा जोमसोमबाट सुरु भएको काँग्रेस जागरण अभियान लोमान्थाङमा पुगेर टुंगियो



प्रकाशित मिति : Jun 08, 2019
  • सुशीलबाबु थकाली,

मुस्ताङ, २५ जेष्ठ । हिमाली जिल्ला मुस्ताङमा पनि १ महिने जागरण अभियान सम्पन्न भएको छ । गत बैशाख २५ गतेबाट देशब्यापी रूपमा सुरु भएको अभियान मुस्ताङमा पनि आरम्भ भएको थियो । मुस्ताङको जोमसोम सदरमुकामबाट सुरु भएको जागरण अभियान १ महिनापछि लोमान्थाङमा पुगेर सम्पन्न भएको छ ।

मुस्ताङको सिमावर्ती क्षेत्र लोमान्थाङमा शनिवार बृहत समापन कार्यक्रमको आयोजना गरिएको छ । हिमाल, पहाड, तराई, मधेस नेपाली कांग्रेस जागरण अभियानको नारा सहित सुरु भएको अभियानले सार्थकता पाएको बताइएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् जनजागरण अभियानका मुस्ताङ संयोजक किरण पौडेलले देशव्यापी रुपमा थालिएको अभियान सफल भएको बताउनु भयो ।

उहाँले देशमा भैरहेको चरम भ्रष्टाचार, बलात्कार, महङ्गी, अभाव लगायतका मुद्दालाई लिएर नेपाली कांग्रेसले हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय जागरण अभियान थालेको चर्चा गर्दै प्रतिपक्षीमा रहेर पनि उदाहरणीय कार्य गर्न सक्नु पर्ने बताउनुभयो । उहाँले अब जनताको घर दैलोमा पुगेर उनीहरुको दुःख , पीर मर्का बुझ्ने बेला आएको पनि बताउनुभयो ।

यसैगरी कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्य चिनु पोख्रेलले आम नेपाली जनताको हक र अधिकारको लागि सबै तह र तप्काका मानिसहरू एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति मुस्ताङका पुर्व सभापति एवम् लोमान्थाङ गाउँ पालिकाका प्रमुख सुवर्ण बिष्टले जागरण अभियानको प्रशंसा गर्नुभएको थियो । यस प्रकारको कार्यक्रमले आम जनताको मन जित्न सफल हुने बिश्वास समेत उहाँको थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com