५६ बर्षमा पशुपतिनाथ मन्दिरमा चढाइएको सुन जम्मा ९ किलो ?



प्रकाशित मिति : Jun 06, 2019

आम जनमानसमा लोकप्रिय एउटा भनाइ छ, कि ‘देश पशुपतिनाथको कृपाले चलेको छ’ तर, दुखद कुरा स्वयं पशुपति नाथ नै अन्यायमा परेको भन्दा पनि फरक नपर्ने गरी पशुपति नाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिको प्रतिवेदन आएको छ ।

६ सय २४ पेजको प्रतिवेदन त आयो तर पशुपतिनाथको मन्दिरमा चढाइएको सुन नै गायब छ । ५६ बर्षमा पशुपतिनाथ मन्दिरमा चढाइएको सुन जम्मा ९ किलो । २०४५ सालदेखि २०५२ सालसम्म ७ बर्षसम्म चडाएको सुनको विवरण नै अभिलेखमा छैन । त्यतिमात्र होइन २०३५ साल, ३६ साल, ४२, ४४, ५३, ६० र ६३ सालको सुन पनि अभिलेखमा छैन ।

अर्थात् लगभग १४ बर्षमा चडाएको सुनको अत्तोपत्तौ छैन । मन्दिरमा चडाएको सुन चोरेर सुनको दात हाल्नेहरु यतिखेर त्यही सुनको दाँत टल्काउँदै मुसुमुसु हाँसीरहेका होलान् । तर सुन गायब भएपनि पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रमा शुरुदेखि हालसम्म काम गर्नेको नामावली त पक्कै पनि गायब भएको छैन होला ।

सारालाई जोड्दा पनि डेढ दुई सय कर्मचारी र सरोकारवालाहरु होलान् । सबको पैतृक सम्पत्ती, पाउने तलब सुविधा र हालको सम्पत्ति विवरण भिडाउने हो भने पशुपति नाथको सुन चोर्नेहरु सजिलै समातिन्छन् । मन्दिरको भेटीमा समेत आँखा गाड्नेहरु माथि कडा छानबिन हुन जरुरी छ ।

२०२० साल मंसिर ५ गते पहिलो पटक सुन चडाएको अभिलेख छ र उक्त अभिलेख अनुसार पहिलो पटक मात्रै ३ तोला भन्दा बढी सुन चडाइएको छ । त्यस लगत्तै अर्को १० दिन पछि ९ तोला सुन मन्दिरमा चढाइएको छ । तर त्यसपछि २०२१ सालदेखि २०२६ सालसम्म कसैले एक लाल पनि सुन चडाएको अभिलेखमा देखिदैन ।

यो अवधिमा सरकारले पुशपतिमा सुन चडाउन पाइने छैन भनेको भएपनि हो भन्नु । तर एकाएक अभिलेख गायब भएपछि सब भन्दा पहिला २०२१ देखि २०२६ सालसम्म को–को काम गर्थे ? सबलाई छानबिनको दायरामा ल्याउन परेन ? त्यतिबेलाका कर्मचारी, पूजारी वा सम्बन्धित जो सुकै हुन्, जीवित भए कुप्रो परिसके होलान, परमधाम भैसकेका भएपनि सुन बोकेर त पक्कै गएनन् होला । छोरा नाती पनातीसम्मको विवरण निकाल्न सकिन्छ ।

५६ बर्षमा ९ किलो सुन मात्र कसरी सम्भव छ, जबकी पहिलो पटक मै ३ तोला सुन चडाइएको अभिलेखले बताउँछ । एउटा सामान्य हिसाब गरौ है त । पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिरमा दैनिक कम्तीमा १ लाख १५ हजार र बढीका ३ लाख रुपैयासम्म संकलन हुन्छ । अनि विशेष पूजा भनेर ११ हजारको पञ्चामृत पूजादेखि २५ लाखको अति रुद्रमहाभिषेक पूजासम्म गरिन्छ ।

अधिकतमलाई छोडेर न्युनतममा जाँउ । प्रतिदिन १ लाख १५ हजारको एभरेज निकालौं । १ बर्षमा ४ करोड १९ लाख ७५ हजार त मिनिमम भेटी उठ्छ । ५६ बर्षमा मिनिमम पनि ८ खर्ब ५७ अर्ब ९६ करोड ९० लाख पैसा उठ्छ ।

त्यो पनि न्यूनतम मात्र हिसाब गर्दा । प्रतिवेदनका अनुसार पशुपतिनाथ मन्दिरको कमाई सवा अर्ब मात्र देखिएको छ । सुन चाँदी, पैसाको हिसाब त मिलेन मिलेन, २ सय ३१ रोपनी जग्गा समेत गायब भएको देखिन्छ । भक्तजनले श्रद्धाले भगवानलाई चडाएको भेटीमा राक्षसहरुले पो मोज गरेछन् ।

पूजा भगवानको भयो, बरदान भक्तजनले आफ्नो लागि मागे तर भगवानको तथास्तु त राक्षसहरु तिर पो डाइभर्ट भएछ । सायद कलियुग भएर होला भक्तलाई दिएको आशिष द्रव्य पिचासहरुलाई लागेछ । कसैको धार्मिक आस्थामा चोट नपुगोस् । ज–जसले मन्दिरमा सुन चाँदी पैसा, मिठाई चडाउनु भएको छ । चोखो मन र पवित्र उदेश्यले नै चडाउनु भएको छ ।

तर भगवानको भाग पनि खाइदिनेहरुलाई अझै कति पोसिरहने । धार्मिक विधि पूरा गर्न फलफूल, असर्फी, सिक्काहरु चडाउनुपर्छ होला, चडाउनुस् केही छैन । तर, सक्नुहुन्छ भने ५० प्रतिशत मन्दिर बाहिरका भोका नांगालाई दिनुहोस् । तिनको आत्माले दिएको आशिस सीधै तपाई र तपाईको परिवारलाई लाग्ने छ । भित्र चडाएका मिठाई फलफूल कुहिएर जान्छन्, त्यसको आधा मात्र बाहिर बस्ने भोकाहरुले पाए पनि तपाईको पूण्य घट्दैन, बड्छ ।

यो कुरा सुन्दा एकदम आदर्शवादी सुनिएको हुन सक्ला तर के गर्नु ? भित्र चडाएको पैसा भगवानको खातामा होइन व्यक्तिका खल्तीमा जाने भएपछि सोच्न त पर्छ पर्छ । आफ्नो इच्छा हो, आस्था हो, विश्वास हो तर म चाँही मन्दिरको हिसाब पारदर्शी नभएसम्म मन्दिरमा फूल अक्षता मात्र र मन्दिर बाहिरका भोका निमुखालाई नै फलफूल र भेटी चढाउने प्रण गर्दछु ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com