थोपा सिंचाई आयोजना आरम्भ भएपछि ओखलढुंगामा किसानहरु तरकारी खेतीतर्फ आकर्षित (भिडियो)



प्रकाशित मिति : Jun 02, 2019

१.थोपा सिंचाई आयोजना आरम्भ भएपछि ओखलढुंगामा किसानहरु तरकारी खेतीतर्फ आकर्षित

ओखलढुंगा । अथाह जलस्रोतका कारण यो देशको जल क्षमतालाई विश्वमा नै दोस्रो स्थान दिइएको छ । हुन पनि हो सयौं नदी र खोलाहरु बग्ने यो देशको जलक्षमतालाई अहिले आएर उर्जामा जोडिन थालिएको छ । तर बेसी र खोँचहरु हुँदै बग्ने नदीहरु हेर्दै तिर्खा मेटाउनु पर्ने अवस्थामा भने यो देशको ठूलो हिस्साका नागरिकहरु अझै छन् ।

तर अहिले थोपा सिंचाई र लिफ्टिङ प्रविधिको आरम्भ भएपछि भने कतिपय स्थानमा खडेरीले सुकेका खेतबारी र तिर्खाले सुकेका आँतहरु पनि भिज्न थालेका छन् । यस्तै हर्ष छाएको छ अहिले ओखलढुंगाको सिद्धिचरण नगरपालिका ८ सल्लेरीमा । पोखरी निर्माण गरी थोपा सिंचाई प्रविधिबाट पानी जम्मा गरेर वितरण गरिएपछि स्थानीयले पिउने पानी मात्र नभइ व्यवसायिक तरकारी खेती पनि गर्न थालेका छन् ।

२.५६ बर्षपछि इलामको जस्बिरे फर्कदा ९१ बर्षीय भैरव रिसालाई गरियो ‘युवा पुरुष’ घोषणा

९१ औं वसन्तमा पाइला विचरण गरिरहेका छन् अग्रज पत्रकार एवं समाजसेवी भैरव रिसाल । जति पाको भएपनि युवा जोश उनी भित्र अझै ताजै छ । राससको पत्रकारिता जागिर छोडेर आज भन्दा ५६ बर्ष अघि उनी इलामको जस्बिरे पुगे आलुको विउ बोेकेर ।

उनले त्यहाँको चिसो माटोमा आलुको विऊ मात्र रोपेनन , शिक्षाको ज्योति पनि रोपे र समाज सुधारका लागि धेरै कार्यहरु गरे । त्यही ठाउँमा ५६ बर्ष पछि फर्किदा रिसाललाई ‘युवा पुरुष’ घोषणा गरेर जस्बिरेवासीले उनले लगाएको गुनको ऋण तिरेका छन् । जस्बिरेवासीले गरेको सम्मानले रिसालका आशु हर्षले रसाएका पनि थिए ।

३.७७ बर्षीय भोजपुरे किसान जो भोजपुरलाई फलफुलमय बनाउन अहोरात्र खटिन्छन्

गरेको लगानीको प्रतिफल नपाउँदा कस्तो होला ? यस्तै अवस्थामा पुगेका थिए भोजपुरका ७७ बर्षीय बुद्ध विष्णुप्रसाद अधिकारी । भोजपुरलाई फलफुलमय बनाउन उनले आफ्नो १० रोपनी जग्गामा ८० हजार फलफुलका विरुवा लगाए तर विरुवा किनेदिने कोही नहुँदा उनले लगाएको विरुवाले रुखको रुप लियो ।

तर उनी थाकेनन आफ्नै बगैचाको विरुवा नदेखेर जिल्ला वाहिरबाट विरुवा ल्याएर बेच्ने वन कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयलाई पनि पगालेर छाडे । एक समय निराश बनेर पुर्पुरोमा हात राख्न पुगेका अधिकारीले उत्पादन गरेको विरुवा वन कार्यालयले किनिदिन थालेपछि उनी दङ्ग परेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com