हामीले खूबै विश्वास गर्ने ज्योतिष : आखिर कति भ्रम, कति यथार्थ ?



प्रकाशित मिति : Jun 01, 2019
  • नारायण नेपाल

प्रसंग- १ : “चिरिक्क घाम लाग्यो अब एकै छिनमा पानी पर्छ । ल आओ, केटाकेटी हो, पराल थन्क्याउँनु पर्छ ।” माइला बाको कुरा सुनेर कसरा निकुञ्जगेटका दीपक र ममता आफ्ना पिताजीसँगै धान-पराल स्याहार गर्न कस्सिए । नभन्दै पानी छिट्याउन थालेपछि ममताले भनिछन्- हाम्रा बाको ज्योतिष ठ्याक्क मिलेर आउला पो जस्तो छ त !

प्रसंग- २ : “ठ्याक्कै दुई दिनमा हराएको गाई भेटिन्छ भन्थे आर्जे हेर्ने बाले, नभन्दै भेटियो । बाजे कडा रहेछन् !” पूजा लामा भन्दै थिइन् । पल्ला नगरको बाली खाइदिएर झण्डै गाईको दाम बराबरकै बिगो तिर्नुपर्ने भए तापनि आफ्नो हराएको पाल्तु जन्तु भेटिदाको खुशी साट्न दाउन्नेकी पूजालाई भ्याइनभ्याई थियो ।

प्रसंग- ३ : चिनाटिपोट देखाएर धुमधाम साइत गरेर झ्याइं बाजा बजाएर बुहारी भित्र्याएको सोनाम बिहे गरेको सात दिनपछि पूर्वप्रेमिका रन्जुलाई लिएर हिडेछ । उल्टै ढुकुटी खेलाउने भन्दै साथीहरूसँग उठाएको एक करोड जति रकम लिएर विदेश उडेछ । यता घरमा नवबुहारीलाई विभिन्न लाञ्छना लगाउँदै सासु र नन्द भएर घरबाट निकाले अरे ! भनेको सुन्ने मदनपोखराका सानाकाजी रानाभाट भने फरक मत राख्दछन् । सानाकाजीका विचारमा ‘ज्योतिष यौटा चलाखीपूर्ण ज्ञान’ हो र यसको प्रयोग अवस्थानुसार फरक पर्दै जान्छ । यो ‘दिमाग चाट्ने पद्दति’ हो र मिल्दा मिल्ने कुरा हो ।

के हाे त ज्याेतिष ?

कुरैकुरा, स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाअनुसार ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।

बूढानिलकण्ठनिवाशी विशिस्ट कर्मकाण्डी एवं पण्डित डिल्लीप्रसाद गुरागाईंका विचारमा ज्योतिष वेदको एक तत्त्वज्ञानी अङ्ग हो । यसले ब्रह्माण्डको अवस्था र व्यक्ति तथा पिण्डहरूको अवस्थितिको सम्बन्ध मापन र सङ्केत गर्दछ । यो ‘जीवन र जगतको तालमेल अध्ययन गर्ने सर्वप्राचीन शास्त्र’ हो ।

चर्चित बालसाहित्यकार एबम् सांस्कृति अध्येता माधव शर्मा नेपालका शब्दमा ‘जीवनमा आइपर्ने घटनाहरूका सङ्गति अध्ययन गर्ने गणितीय विश्लेशणको विषय’ ज्योतिष हो । यो तथ्यपरक अनुमानमा चल्ने गर्दछ । छिन्ताङ्ग धनकुटाका सूर्य राई अनि स्याङ्गजाली वयोवृद्ध कृषिकर्मी सोमा रसाइलीको पनि समान धारणा पाइएको यथार्थमा सही अध्ययन र विश्लेषण यस विधाको कसी हुनेगरेको बुझिन्छ ।

प्रादुर्भाव कहाँ र कहिले ?

ज्योतिषशास्त्रको प्रारम्भ र यसको प्रयोग प्रादुर्भाव कहाँ भयो भन्दा पनि कहाँ भएन भनी खोज्न जरुरी देखिन्छ । संसारकै पुरानो ग्रन्थ वेद, जो मानवकथित र लिखित थिएन भनिन्छ, कै आधार प्रष्ट छ कि ज्योतिष मानव सभ्यता अध्ययनको पहिलो कसीकै रूपमा रहिआयो ।

कतिपयले मेसोपोटामियाको प्राचिन सभ्यतामा पनि यसको अभ्यास गरिएको र ग्रिशेली सभ्यतामा पनि प्रचलित रहेको मानेका छन् । सम्भवत: मुख्य-मुख्य सभ्यतासँग ज्योतिष पहिलेदेखि नै जोडिएर रहेको बुझ्नुपर्छ र सोहीअनुसार बुझाउन आवश्यक छ ।

के सबै ज्योतिष एकै हुन्छ ?

खगोलीय गणितफलित गरी ज्योतिषका दुई मुख्य खेमा मानिन्छन् । मुख्य कुरो एकै लागे तापनि विभिन्नता भने स्थानअनुसार भेटिएकै छ । ‘पृथ्वीको क्रान्तिवृत्त र यसको सापेक्षतामा अन्य ग्रहादिकाे अवस्था हेरिने’ गणित ज्योतिष हो भने ‘खगोलीय अवस्थितिले मनुष्य तथा पृथ्वीमा पर्ने शुभ तथा अशुभ प्रभावको मुआवरा गर्ने’ फलित ज्योतिष हो भन्ने गरिएको छ । हस्त रेखा, पादअवलोकन, जोखाना/आर्जे, फेस रिडिङ्ग, कुण्डली विश्लेषण गर्नु फलित पक्षले समेट्ने कुरा हुन् भनी बुझ्न जरुरी छ । यस्तो अध्ययन पूर्वीय मतमा चन्द्रशारिणी र पश्चिममा सौर्यशारिणी हेरी मिलाउने गरिएको छ ।

अरुका कुरामा छिट्टै विश्वास गर्ने मान्छेहरू र कमशल ज्योतिषीहरूले यो विषयको महत्व र गरिमा घटाएका छन् । हो पनि ! अनुभव र सन्दर्भ बुझेर सबैजसोलाई हो कि जस्ता लाग्ने मिल्दाजुल्दा साझा सङ्केत भनिदिएर बाह्र-सत्ताइस बोल्नेहरूका कुरा पर्गेल्न जरुरी छ । यस्तो सघन विषयलाई कमाइ खाने भाँडाको रूपमा मात्र प्रयोग गर्नु कसैको पनि हितमा छैन ।

चिनियाँ ज्योतिष शास्त्र पानी, पृथ्वी अनि स्वर्गको सापेक्षतामा आधारित रहेको मानिन्छ । यसमा 12 वर्षको गणितीय चक्र र हरेक वर्षका जनावर प्रतीकका आधारमा स्वभाव आँकलन, सङ्ख्या गणन, यिङ्ग-याङ्ग सन्तुलन, तत्त्वसंयोजन आदि हेरी व्ययक्तिको भूत, वर्तमान तथा भविष्य बताउने गरिएको पाइन्छ ।

योगज्योतिष अनि तन्त्रज्योतिषसमेत जोडेर हेर्दा ज्योतिष प्रकारान्तले विविधतायुक्त छ भन्न सकिन्छ ।

ज्योतिषमा के हेरिन्छ त ?

अनुमानको गणितीय खाकामा चल्ने यो शास्त्र खगोलीय पिण्डहरूको अवस्थिति तिनको स्वभाव र आरोपित गुणहरूका आधारमा त्यस्ता पिण्डहरूको अन्तरसम्बन्ध र जीवन र जगतमा पर्ने तिनको प्रभाव हेरिन्छ ।

विकिपिडियाअनुसार, मूलतः काल्पनिक तारापुञ्जको भेदमा बुझी-बुझाई आइएको स्थिर राशी गतिशील ग्रहको सामाञ्जस्यमा कुण्डली निर्धारण गरिन्छ र सम्बन्धित राशीअन्तर्गत ग्रहका स्वभावअनुसार फलदोषजस्ता विभिन्न अर्थहरू खोज्ने गरिन्छ । जस्तो कि, मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ । त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुने भविष्यवाणी गरिआइएको छ । शुक्र दानवगुरु हुन् । त्यसैले वृहस्पति शुक्रको शत्रु भयो । शुक्रले यौनको पनि सङ्केत गर्दछ । शुक्र प्रधान हुने व्यक्ति कामवाशाना बढी हुने भनिन्छ । शनी पाप ग्रह हो । यसको प्रभाव पाप कर्ममा हुन्छ । धन पनि एक अर्थले पाप कर्म हो । शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ । चन्द्रमा सुन्दरता, कल्पनाको प्रतीक हो । यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ, आदि ।

ज्योतिष डा. सुनिल सिटौंलाले सञ्चालनमा ल्याएको एप जोखाना तथा विभिन्न धामी, माता/बूधीबजु, बिर्जु, झाँक्री आदिको गुजारा चलिरहेको तथ्य ज्योतिष विद्याको आवश्यकता पुष्टि गर्न पर्याप्त छ भन्न सकिन्छ । अझ आधुनिक युवावर्ग जानीनजानी पत्रपत्रिका र विभिन्न एपमा हरेक दिनको राशिफलमा नजर पुर्याउने अनि विहेवारी गर्नेलगायतका अन्यले शुभ र अशुभ ग्रहादि फलको तथा लगन वा मुहुर्तको जानकारी लिने भएबाट ज्ञानको यस पाटोको महत्त्व घामजत्तिकै छर्लंग भैदिएको छ ।

यस्तै, तिथि, बार, महिना, प्रहर, करण, योग आदिको फलादेशमा महत्व हुन्छ । पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ ।

फलादेशका लागि धेरै कुराको विचार आवश्यक हुन्छ । एउटा हो दृष्टि । ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन् । पिण्डेश्वर विद्यापीठ धरानका उप्रा कृष्णप्रसाद कोइरालाको यसबारेको सम्मत लाग्छ । कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर)मा ठाडो दृष्टि दिन्छ । यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ । त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि । शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ ।

फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो । दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ । त्यस्तै, कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त । राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो । उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ ।

ग्रहका आफ्ना भोगकाल हुन्छन् । त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि । दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ । फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा आदि हुन्छन् । यी सबै कुराकाे विश्लेषण गरी सही नतिजाकाे आँकलन गर्नु धेरैका लागि चुनौतीकै विषय रहिआएको छ । कसैले पनि शतप्रतिशत भविष्यवाणी गर्न सक्दैन ।

अनुमान अथवा भविष्यवाणी : कति मिल्ने, कति नमिल्ने ?

अलि जान्नेले हेरेको ठिकै हुँदो हो । तर, अनुमान मिल्नु संयोग मात्र हो जस्तो लाग्छ । मिलेसम्म मिल्ने यो कायदा सधैं र सबैलाई मिल्छ भन्ने ठोकुवा दिने विषय कदापि होइन ।

पत्थर, रत्न, माला, औंठी, जन्तर आदि ब्यापार गर्नेको त गुजारा चल्ला तर पूर्ण अन्धविश्वासमा लागेर भौंतारिने मनलाई साँढेसरह छोड्नु घातक हुनसक्छ भन्छन् सोलु सल्लेरीका फुर्बा शेर्पा । उनका कुरामा ज्योतिषलाई मनोविज्ञानमा मिसाएर हेरिएको ठिक छैन !

अरुका कुरामा छिट्टै विश्वास गर्ने मान्छेहरू र कमशल ज्योतिषीहरूले यो विषयको महत्व र गरिमा घटाएका छन् । हो पनि ! अनुभव र सन्दर्भ बुझेर सबैजसोलाई हो कि जस्ता लाग्ने मिल्दाजुल्दा साझा सङ्केत भनिदिएर बाह्र-सत्ताइस बोल्नेहरूका कुरा पर्गेल्न जरुरी छ । यस्तो सघन विषयलाई कमाइ खाने भाँडाको रूपमा मात्र प्रयोग गर्नु कसैको पनि हितमा छैन ।

मिलेको भनिएका विश्वचर्चित अनुमानहरू

कलीयुगमा अन्नमा गएर प्राण अडिने कुरा पुराना काव्यमा उल्लेख गरिएको बेठिक छैन भन्न सकिने धेरै आधार छन् । त्यसैगरी, विश्व इतिहास हेर्दा, सोह्रौं शताब्दीका फ्रान्सेली सिएर नोस्त्रदमसका थुप्रै भविष्यवाणी ठिक भएको भनिएको छ । त्यसमा हेनरी द्वितीयको मृत्यु, लण्डनको आगलागी आदि पर्दछन् । उनको पछिल्लो भविष्यवाणीहरूमध्ये सन् २०१५ को हाराहारीमा एन्टीक्रिश्चिअनिटीको जन्म आइएसको उदयसँग जोडेर मिलेको भनिएको छ ।

“यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु। यहाँ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ मलाई राम्ररी थाहा छ । म मारिएपछि मेरो हत्याले मेरो भनाइलाई अझ प्रमाणित गर्नेछ” भन्ने महान् आध्यात्मिक दार्शनिक आेशाे रजनीशको भनाइ उत्तिकै माननीय छ । अलि पृथक तर रहश्यपूर्ण अक्टोपसको भकुन्डे भविष्यवाणी हामी सबैले बिर्सनेछैनौं नै !

पृथ्वीको आयु सकिने, तेश्रो विश्वयुद्ध हुने, अर्को कुनै ग्रहमा मानव वस्ती बस्ने यस्ता कैयौं अनुमान भविष्यको गर्भमा छन् भन्न सकिन्छ !

ज्योतिषले उब्जाउने मनोकथा !

ज्योतिषसँग शैक्षिक र बाैद्धिक तादात्म्य राख्ने व्यक्तिहरू ज्योतिषी कहलाउँछन् ! कतै त जोशी अनि जैशी पनि बुझिन्छ । मानिसहरूलाई तपाईले यो गर्दा ठिक हुन्छ, यो गर्दा संयमित हुनुहोस्, यो नगर्नुहोस् भन्दा कतिले गलत ठाने पनि ब्यबहारिकता हेर्दा गलत नहोला भन्न सकिन्छ ।

याे पंक्तिकार पनि दुईचार अनुमान गरेको अनुभव राख्तछ तर पठित होइन र यो बौदिक खुराकको रहेको वैदिक कुरो मान्दछ ! ऋषिमुनिहरू र विद्वानहररूले हजारौँ वर्षसम्मको रिसर्चबाट विकसित यस्तो प्राज्ञिक विषयको हचुवामा प्रयोग गरिनु भने हुँदैन । स्थिति जटील हुने देखिए पनि त्रासको डम्फू फुक्नु अनौठै हुनेछ । जस्तो अहिले भुइंचालो आउने, राजा फर्किने आदि अफवाहले मानिस बिथोलिएकै छन् । सचेत वर्गले बुझ्ने र बुझाउने कुरो अर्को पाटो हुनसक्छ ।

ज्योतिष विद्याबाट के पत्ता लगाउन सकिन्छ ?

राम्रो हेर्न जानेमा ज्योतिष जीवनको ऐना हो । यो सही जीवनयापनको मार्गदर्शक हो, ज्ञानचक्षु हो ।

हामीले हेर्ने ज्योतिषको मूल विधा भनेको कुण्डली हो । ज्योतिषी दिवाकर पन्तका अनुसार कुण्डलीबाट ब्यक्तिको विगत, वर्तमान र भविष्य अध्ययन गर्न सकिन्छ । अनि, कुण्डलीका प्रकार हेरी सम्बन्धित ब्यक्तिको वैवाहिक जीवन, ब्यापार-वृत्ति, गृहप्रवेश, सन्तानका पक्ष आदिबारे अध्ययन गरिन्छ । त्यसैगरी दशमांश कुण्डलीबाट ब्यक्तिको पेशागत जीवन अध्ययन गरिन्छ । यसरी धेरै कुण्डलीहरू छन्, जसबाट शुक्ष्म रूपमा अध्ययन गरिन्छ ।

ज्योतिषप्रति समाजमा ठूलो विश्वास छ । त्यत्ति मात्र होईन, अहिले वैदिक ज्योतिष प्रति पश्चिमाहरुको ठुलो चासो बढेर आएको छ । उनीहरू वैदिक ज्योतिषमार्फत् आफनो चिना-टिपोट बनाउन थालेका छन् । कतिपय पर्यटकहरू नेपाल र भारत आउँदा ज्योतिषीकहाँ पुगेर परामर्श लिने गर्दछन् । आश्चर्यको कुरा यो छ कि अहिले पश्चिमाहरू वैदिक ज्योतिषमार्फत् आफ्नो चिना बनाउन थालेका छन् भने लाभकामी हामी आफ्नो यस्तो मुल्यवान सम्पदाको चीरहरण गर्दै मक्ख छौं ।

निचोडमा ज्योतिष:

भूत, भविष्य र वर्तमानको समय र सन्दर्भको कसीमा जीवन पद्दति नियाल्न र गतिविधि निर्क्यौल गर्न सहयोगी विद्या ज्योतिष एक आधारभूत ज्ञान हो । गणितमा आधारित विज्ञान नै भएकाले र आधुनिक विज्ञानले समेत नकार्न नसकेको यो विषय मानवीय ज्ञानको महत्त्वपूर्ण शाखा हो ।

तिथि, बार, योग, करण, नक्षत्र, राशीफल, राशी-राशीबीचको सम्बन्ध, ग्रहगोचर अनि यस्ता तत्त्वमार्फत् जीवन र जगतमा पर्नसक्ने विचारणीय अवस्थाजस्ता मानिसलाई चासो रहने जानकारीहरू खोतल्न बुझ्नसकिने यस्तो उपयोगी शास्त्र सधैंको खाँचोको विषय रहँदै आएको छ । यस्तो संवेदनशील विषयको पर्याप्त अध्ययन र ठोस अनुमान गर्नसके यसको सान्दर्भिकता अझ प्रखारित हुने थियो भन्नसकिन्छ । पुनश्च: कुराजनीतिको शिकार नहोस् र यसको गलत प्रयोग हुनुहुन्न भन्ने कुरामा सम्बन्धित सबै सचेत रहन पङ्क्तिकारको अनुरोध पनि छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com