संविधान जारी नगर्न दबाव दिने जयशंकर बने माेदी सरकारका ‘विदेशमन्त्री’, नेपालमा चासाे र चर्चा



प्रकाशित मिति : May 31, 2019

काठमाडाैँ । भारतकाे केन्द्रीय सत्तामा पुन: नरेन्द्र माेदीकै राज कायम भएपछि यसकाे नेपालमा समेत निकै चर्चा भइरहेकाे छ । बिहीबार माेदीले भारतका १५ औँ प्रधानमन्त्रीका रुपमा शपथग्रहण गरिसकेका छन् । साे शपथग्रहण समाराेहमा बिमस्टेक राष्टका सरकार/राष्ट्रप्रमुखसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेतकाे उपस्थिति रह्याे ।

माेदी क्याबिनेटकाे नेपालमा चर्चा यसकारण पनि भइरहेकाे छ कि त्यहाँका पूर्व विदेश सचिव एस (सुब्रमण्यम) जयशंकर पनि साे मन्त्रिमण्डलमा नियुक्त भएका छन् । उनी माेदी मन्त्रिमण्डलका एक मात्र गैरराजनीतिक सदस्य रहेकाे बताइन्छ । माेदीका विश्वासपात्र र प्रिय प्रशासक मानिने जयशंकर भारतका एक सफल र चतुर कुटनीतिज्ञ मानिन्छन् ।

जयशंकरलाई प्रम माेदीले विदेशमन्त्रीकाे भूमिका दिइसकेका छन् । उनी अन्तर्राष्ट्रिय कूटनीति र विशेषगरी परमाणु कूटनीतिमा सफल र जानकार व्यक्ति मानिने भएकाले नै माेदीले ‘विदेश मन्त्री’काे पगरी गुथाएका हुन् । तर गैरराजनीतिक पृष्ठभूमिबाट सरकारमा पुगेका उनले लाेकसभा चुनाव लडेका छैनन्, आगामी राज्यसभाकाे सदस्यका लागि भने उनी उम्मेद्वार बन्नपर्ने बाध्यता रहन्छ ।

बिहीबार प्रधानमन्त्री नरेन्द्र माेदीसँगै मन्त्री र राज्यमन्त्री गरी ५७ जनाले पनि सपथ लिए । सपथ लिनेमा जयशंकर पनि थिए । उनीमाथि अहिले नेपालकाे नजर परेकाे छ । कारण- तिनै जयशंकर नेपालमा संविधान जारी गर्ने बेला हतारहतार माेदीकै विशेष दूत बनेर नेपाल आएका थिए । उनी नेपालमा संवधानसभाबाट निर्मित संविधा जारी हुनुभन्दा २ दिनअघि अर्थात् २०७२ असाेज १ गते नेपाल आएका थिए । त्यतिबेला उनी त्यहाँका विदेश सचिव थिए । नेपालमा तत्कालै संविधान जारी नगर्न उनले तत्कालीन प्रधानमन्त्री सुशील काेइराला लगायत प्रमुख दलका नेताहरुलाई भेटेर सीधै दबाव दिएका थिए ।

तर भारतीय प्रधानमन्त्रीका दूतकाे रुपमा आएका भए पनि जयशंकरकाे दबाव नेपालका नेताहरुले अटेर गर्दै पूर्वनिर्धारित मितिमै संविधान जारी गरेका थिए । यसघटनाबाट क्रुद भएकाे माेदी सरकारले नेपालमा अघाेषित नाकाबन्दी सुरु गरेकाे थियाे ।

काे हुन् एस जयशंकर ?

भारतीय विदेश सुचिवबाट सन् २०१८ मा अवकाश पाएका एस जयशंकर त्यहाँका कुशल कूटनीतिज्ञ तथा रणनीतिकार मानिन्छन् । उनलाई तत्कालीन प्रम नरेन्द्र माेदीले नै आफ्नाे पहिलाे कार्यकालकाे सुरुआतीताका सन् २०१५ मा विदेश सचिवमा नियुक्ति दिएका थिए भने २०१७ मै कार्यकाल सकिए पनि माेदीले नै १ वर्ष लम्ब्याएका थिए । उनैलाई नियुक्त गर्नका लागि माेदीले तत्कालीन विदेश सचिव सुजाता सिंहलाई अवधि नपुगीकनै हटाएकाे भनेर विवाद समेत भएकाे थियाे ।

उनकाे जन्म १९५५ जनवरी १५ मा भएकाे बताइन्छ । उनका पिता भारतीय कूटनीतिज्ञ थिए । संयोगबस ०२७ सालमा भारतले नेपाललाई नाकाबन्दी गर्दा पनि जयशंकरका पिता एस सुब्रमण्यम भारतका विदेशसचिव थिए ।

नयाँदिल्लीको सेन्ट स्टिफन कलेजबाट अध्ययन गरेका जयशंकरले राजनीति विज्ञानमा एमफिल गर्नुका साथै जवाहरलाल नेहरु विश्वविद्यालयबाट पीएचडीसमेत गरेका छन् । उनले हालै पद्मश्री अवार्ड पाइसकेका छन् । जुन भारतको चौथो सबैभन्दा ठूलो सिभिलियन अवार्ड मानिन्छ ।

जयंशकरले भारतीय विदेश सेवामा पहिलाेपटक सन् १९७७ मा ‘इन्ट्री’ गरेका थिए । उनको पहिलो पोस्टिङ रुसस्थित भारतीय दूतावासमा भएको थियो भने उनी तत्कालीन भारतीय राष्ट्रपति शंकरदयाल शर्माका प्रेस सचिव पनि भएका थिए । पछि उनी विदेश मन्त्रालयका अण्डर सेक्रेटरी समेत भए ।

भारतीय विदेश सचिवका रुपमा माेदीले उनलाई नियुक्ति दिनुअघि जयशंकर अमेरिकी राजदूतावासमा कार्यरत थिए । २०१४ देखि २०१५ सम्म १ वर्षमात्रै उनले त्यहाँ काम गरे । त्यसअघि उनी चीनका लागि भारतीय राजदूत (२००९–२०१३), चेक रिपब्लिकका लागि भारतीय (२००१–२००४) र सिंगापुरका लागि भारतको हाइकमिसनर (२००७–२००९) समेत बनेर अन्तर्राष्ट्रिय कुटनीतिमा आफ्नाे प्रभाव छाेडेका छन् । जयशंकरले श्रीलंकामा भारतीय सेनाको राजनैतिक सल्लाहकारका रुपमा सकेत काम गरेका थिए ।

केही समयअघि दाेक्लाममा चुलिएकाे भारत-चीन सीमा विवाद चीनसँगकाे वार्ताबाट समाधान गर्नमा उनकाे ठूलो भूमिका रहेको बताइन्छ । अमेरिकासँग ‘उनले इण्डो युएस सिभिलियन न्यूक्लियर एग्रीमेन्ट’मा पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।

प्रधानमन्त्री मोदीले विगतमा आफ्ना हरेक विदेश भ्रमणमा प्राय: जयशंकरलाई नछुटाईकन साथै लैजाने गर्थे । उनकाे नयाँ मन्त्रिमण्डलमा जयशंकर पनि राखिएपछि यसले नेपालसम्मै चर्चा पाएकाे हाे । नेपालमा नेतादेखि सर्वसाधारणसम्ममा उनीबारे चासाे र चर्चा सुरु भएकाे छ । किनभने २०७२ काे नेपालमा नाकाबन्दी लगाउने सूत्रधारमध्येका एक उनी पनि हुन् भन्ने यहाँ आम मानसिकता विकसित भएकाे छ । उनी भारतका नयाँ विदेशमन्त्री बन्ने चर्चाले त्यसपछिकाे नेपाल-भारत कूटनीतिक सम्बन्ध कुन आयाममा पुग्ला भन्ने चासाे नेपालमा बढ्नु स्वाभाविकै पनि हाे । (बिबिसी हिन्दीकाे सहयाेगमा)


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com