३ नम्बर प्रदेश सरकारले १३ जिल्लामा स्वयम् सेवक खटायो



प्रकाशित मिति : May 21, 2019
  • देवराज पन्त

मकवानपुर । प्रदेश ३ सरकारले आजबाट प्रदेश भित्रका १३ जिल्लामा विभिन्न क्षेत्रगत विधामा कार्य गर्नेगरी स्वयम् सेवक कर्मचारी परिचालन गरेको छ । प्रदेशले शिक्षा, स्वास्थ्य, मानव बेचविखन न्युनिकरण, कृषि, खेलकुद लगायत विभिन्न ११ क्षेत्रमा २ बर्षका लागि १ सय १५ जना स्वयम् सेवक कर्मचारी परिचालन गरेको हो ।

यस विषयमा प्रदेश ३ सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले स्वयम् सेवक कार्यक्रमले युवाहरुमा समाज प्रति आफ्नो उत्तरदायित्व विकास र देशका लागि आफ्नो पनि योगदान हुनुपर्छ भन्ने मानसिकता विकास गर्ने बताएका छन् । प्रदेश भित्रका कतिपय क्षेत्रमा कर्मचारी, प्राविधिकहरुको अभावका कारण जनताले सेवासुविधाबाट बञ्चित हुनु परेकाले सो समस्या आंशिक रुपमा समाधानका लागि भएपनि स्वयम् सेवकहरुको भूमिकाले सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

प्रदेश सरकारले स्वयम् सेवकहरुलाई खाने वस्ने व्यवस्थाका लागि निर्वाह भत्ता स्वरुप न्युनतम रकम पनि उपलब्ध गराउने सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले जानकारी दिएका छन् । स्वयम् सेवकहरुलाई आज मन्त्रालयमा प्रदेश ३ सरकारको नीति तथा कार्यक्रम र स्वयम् सेवकहरुको भूमिका विषयक अभिमुखीकरण तालिम दिईएको थियो ।

कार्यक्रममा प्रदेश सरकारको नीति तथा योजना आयोगकी सदस्य डा. यमूना कँडेल, मन्त्रालयका विभिन्न महाशाखा प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । स्वयम् सेवकहरुलाई उनीहरुलाई खटाईएको कार्यालय प्रमुखहरुले परिचालन गर्नेछन् । प्रदेश ३ सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य प्रति ध्यान दिंदै यस अघि नमूना कार्यक्रम स्वरुप एक विद्यालय, एक जना नर्स कार्यक्रम सञ्चालन गरिसकेको छ, भने यसको विद्यालयहरुमा सकारात्मक प्रभाव देखिएको पनि छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com