लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा लागुऔषधसहित सात पक्राउ



प्रकाशित मिति : May 21, 2019

बाँके । लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको हो ।

सीमामा लागुऔषधको कारोबार बढिरहेका बेला प्रहरीले लागुऔषधसम्बन्धी विज्ञ कुकुर नै परिचालन गरेर नियन्त्रणमा लिन थालिएको छ । यसैबीच नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा ७ जनालाई पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का र नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठ पक्राउ परेकी हुन् । त्यस्तै नेपालगञ्ज–१८ भुजइगाउँका किशोरकुमार धोवीलाई चार ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पास्मो र एक बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको छ । कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित नियन्त्रण्मा लिइएको छ । रुपैडिहाबाट आउँदै गरेका थप दुई बालकका साथबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको र ती बालकालाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लागुऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको देश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com