उपभोक्ता मूल्यवृद्धिः हिमालमा ६.२ प्रतिशत, काठमाडौंमा ४.७ प्रतिशत



प्रकाशित मिति : May 20, 2019

काठमाडौँ । आर्थिक वर्ष २०७५/०७६ को ९ महिनामा उपभोग्य क्षेत्रको भन्दा सेवा क्षेत्रको मूल्य वृद्धि बढी छ । त्यस्तै क्षेत्रगत आधारमा काठमाडौं उपत्याकामा झण्डै ५ प्रतिशत मूल्यवृद्धि छ । हिमालमा ६ प्रतिशत भन्दा बढी छ भने तराईमा ४ प्रतिशत मूल्यवृद्धि भएको छ ।

गत वर्ष भन्दा आर्थिक वर्ष २०७५/०७६ को ९ महिनामा मूल्य वृद्धि केही घटेको देखिन्छ । तर बजारमा एक महिना यता तरकारी जन्य वस्तुको मूल्य छोइनसक्नु छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्याङ्क अनुसार पनि मूल्य वृद्धि तुलनात्मक रुपमा उच्च देखिन्छ । यो वर्ष उपभोक्ता मूल्य वृद्धिदर ४ दशमलव ४ प्रतिशत छ ।

यो मूल्य वृद्धि सरकारले नियन्त्रणमा राख्नका लगि लिएको लक्ष्य भित्रै छ । यो अवधिमा तरकारी जन्य वस्तुको मूल्य गत वर्षको तुलनामा नियन्त्रणमा रहेको देखिन्छ । तर बैसाख लागे यता तरकारीको मूल्य वृद्धि भएको कालिमाटी तरकारी बजारको तथ्याङ्कमा देखिन्छ । खाद्य क्षेत्रको भन्दा गैर खाद्य तथा सेवा क्षेत्रको मूल्य वृद्धि अत्याधिक छ ।

घरायसी सेवा तथा उपयोगिताका वस्तुको मूल्य वृद्धि मात्रै ७ दशालव ४ प्रतिशत छ । २०७५ चैत महिना सम्ममा उपभोक्ता मूल्य वृद्धि हिमालमा ६ दशमलव २ प्रतिशत, पहाडमा ४ दशमलव ८ प्रतिशत, काठमाडौं उपत्यकामा ४ दशमलव ७ प्रतिशत र तराईमा ४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मूल्यवृद्धि हिमालमा ७ प्रतिशत, पहाडमा ६ प्रतिशत, काठमाडौंमा ४ दशालव ३ प्रतिशत र तराईमा ५ दशमलव ७ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्त सम्मको राष्ट्र बैंकको तथ्याङ्क अनुसार तुलनात्मक रुपमा गतवर्षभन्दा मूल्य वृद्धि घटेको छ । तर बैशाख यता बजारमा तरकारी जन्य वस्तुको मूल्य वृद्धि भएको देखिन्छ । यसले सरकारले लिएको ५ दशमलव ५ प्रतिशत भित्र मूल्य वृद्धि कयम गर्ने लक्ष्यलाई चुनौति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com