दिगो विकासको लक्ष्य राखेर बजेट नीति बनाउन अर्थविद्को सुझाव



प्रकाशित मिति : May 20, 2019

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउने तयारी तीव्र बनाएको छ । तर, बजेट नीति कस्तो बन्ला भन्ने चासोको विषय बनेको छ । दिगो आर्थिक लाभ हुने गरी बजेट नीति ल्याउनुपर्ने अर्थविद्हरुले सुझाव दिन थालेका छन् । विज्ञहरुले विगतमा नीति प्रभावकारी नभएका कारण कार्यान्वयन फितलो भएको बताएका छन् ।

सरकारले हरेक वर्ष बजेट ल्याउने गरेको छ । बजेटले राखेको उद्देश्य अनुसार काम हुन सकेको छैन । त्यसैले अर्थविद्हरुले दिगो आर्थिक फाइदा हुने गरी बजेट नीति ल्याउन सुझाएका छन् ।
विज्ञहरुले दिएका सुझावः
–सातै प्रदेश समेट्ने गरी बजेट विनियोजन
–उच्च आर्थिक बृद्धि
–समावेशी विकास
–व्यापारघाटा न्यूनिकरणमा ध्यान दिनुपर्ने
–उद्योगधन्दाको विकास
–घट्दो वैदेशिक लगानीलाई ध्यान दिनुपर्ने

चालु आर्थिक वर्ष २०७५/७६ मा सरकारले ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो । यस वर्ष पूँजिगततर्फ ४० प्रतिशत र अन्य खर्च १२ प्रतिशत मात्र भएका छन् । सरकारले दीर्घकालिन सोच नबनाउँदा खर्च कम भएको विश्लेषण पनि हुने गरेको छ । जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदै छ । यसपटक १५ खर्बको सिलिङमा बजेट ल्याउनुपर्ने छ । खर्च बढाउन सरकारले दिगो सोच राख्नुपर्ने विज्ञहरु बताउँछन् । साना–साना विषयमा बजेट छर्ने प्रवृत्तिले कार्यान्वयनमा समस्या ल्याउने गरेको उनीहरुको तर्क छ ।

रोजगारी, शिक्षा, स्वास्थ्य र खाद्यान्नमा संविधानले ग्यारेन्टी गरेको छ । ती विषयलाई पूरा गर्नका लागि आधारभूत रूपमा बजेटको बाँडफाँट गर्नुपर्ने छ । सबै क्षेत्रका जनताले बजेटलाई आशाको रूपमा हेरेका छन् । सरकारले प्राथमिकताका क्षेत्र छानेर अघि बढ्ने सुझाव पनि नागरिकस्तरबाट आउन थालेका छन् ।

समयमा बजेट खर्च नहुँदा बजारमा तरलताको अभाव भएको छ । त्यसैले सरकारले तत्कालिन र दिर्घकालिन प्रभाव पर्ने गरी नीति बनाउन जानकारहरु सुझाव दिन्छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com