सडक निर्माणको माग राख्दै ढोलाहिटी–चापागाउँमा अनिश्चितकालीन बन्द…



प्रकाशित मिति : May 15, 2019

विकास–निर्माणको काम समयमै पूरा होस् भनेर पनि आन्दोलन गर्नुपर्ने अत्यन्तै लाजमर्दो अवस्थामा छौं हामी । केही दिनअघि काठमाडौंको चावहिल–जोरपाटी सडकखण्डको स्तरोन्नती छिटो होस् भनेर स्थानीय सडकमै उत्रिए । तर, राज्यले तिनैमाथि लाठी बर्सायो । र, तत्काल काम अगाडि बढाउने सरकारी निकायको आश्वासनपछि स्थानीय अहिले ‘पर्ख र हेर’ को अवस्थामा छन् । जुन उनीहरुको नियमित नियती हो ।

चावहिल–जोरपाटी सडकखण्डको आन्दोलनले तत्कालका लागि निकास पाएपनि सरकारी निकायको ध्यानाकर्षण गराउन सडकमै उत्रनु पर्ने रहेछ भन्ने सन्देश दियो । र, लगत्तै ललितपुरको ढोलाहिटीदेखि चापागाउँसम्मको १२ किलोमिटर सडक आसपासका स्थानीय आन्दोलनमा उत्रिए । चार वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्न बाध्य हुँदै आएका स्थानीयले शुक्रबार बिहानबाट सडक अवरुद्ध सुरु गरे ।

जुन पाँचौं दिन बुधबार पनि जारी रह्यो । १२ किलोमिटर सडकखण्डको ठेचो, धापाखेल, झ्यालीपाटी, चापागाउँ, प्याङगाउँ र टाखेलमा स्थानीयले सडक पूर्णरुपमा अवरोध गरिरहेका छन् । यातायातका साधन नचल्दा सास्ती चाहीँ स्थानीयलाई नै परेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालयले २०७२ सालमा २३ करोड रुपैयाँको ठेक्काअनुसार कन्टेक निर्माण प्रालिलाई ढोलाहिटी–चापागाउँ सडक विस्तार र स्तारोन्नतीको जम्मा दिएको थियो । सडक विस्तार सुरु गर्दा आयोजना कार्यालयले २० मिटर चौडाईको सडक बनाउने र छेउका घरटहरा र संरचनाको क्षतिपूर्ति दिने योजनाका साथ काम थालेको थियो ।

स्थानीयले घरको क्षतिपूर्तिसहित चलन–चल्तीको भाउले जमिनको मुआब्जा पनि माग गर्दै सर्वोच्च अदालत गुहारे । र, २०७५ असारमा सर्वोच्चले सडक विस्तार गर्दा पीडितलाई संरचनाको क्षतिपूर्तिसहित जमिनको मु–आब्जा दिन विभागलाई अन्तरिम आदेश दिएपछि यो सडकको निर्माण पनि प्रभावित भएको छ ।

ललितपुरको ढोलाहिटी–चापागाउँ सडक तत्काल स्तरोन्नती हुनुपर्ने भन्दै चलिरहेको आन्दोलनको चर्चा भइहरेको छ । ठेकेदार कम्पनीले धूलो र हिलो रोकथामका लागि केही काम नगरेको भन्दै आक्रोशित भएका स्थानीय अहिले पीच नगरेसम्म पछाडि नहट्ने अडानमा छन् ।

तर, निर्माण कम्पनीले सम्झौताअनुसार सडकको बीचदेखि १०–१० मिटर क्षेत्र ‘क्लियर’ हुनुपर्ने मात्र होइन चार वर्षअघिको सम्झौता रकममा काम गर्न नसक्ने अत्तो थापेको छ । बजेट थपेर नयाँ सम्झौता नगरेसम्म काम गर्न नसक्ने उसको अडानका कारण स्थानीयको माग तत्काल पूरा हुने छाँट छैन ।

एकातिर प्रधानमन्त्री काठमाडौंमा ‘मास्क’ लगाउनु पर्ने गरी धुलो छैन भनेर संसदमा कुर्लिन्छन् । अर्कातिर धुलोले टिकीखानै दिएन भनेर काठमाडौंबासी नै आन्दोलनमा उत्रिन्छन् । सत्ताधारीको बोली र व्यवहारको यो विरोधाभाष केही वर्षदेखि जारी छ । तरपनि नागरिकले व्यहोर्दै आएको सकसमा राज्यले पटक्कै ध्यान दिएको छैन ।

नागरिक जब सडककै लागि सडकमा उत्रिन्छन् । तब सरकार आश्वासन बाँडेर थुमथुम्याउँछ । तर, आश्वासन पूरा गर्न गम्भीर हुँदैन् । काठमाडौं उपत्यकामा विस्तार गर्न लागिएका मुख्य सडक सडक चाहे चावहिल–जोरपाटीको कुरा गर्नुस्, चाहे ढोलाहिटी–चापागाउँकै या कलंकी–नागढुंगाकै कम्तिमा पाँच वर्षदेखि जस्ताको त्यस्तै छन् ।

प्रधानमन्त्रीले ‘मास्क’ लगाउनु नपर्ने भो भनेर ‘गफ’ दिनुभन्दा रहेका÷भएका व्यवधान हटाएर सडक निर्माण सकेसम्म छिटो सक्न इमान्दार हस्तक्षेप गर्न जरुरी छ । काम गरेरै ‘मास्क’ लगाउनु पर्ने बाध्यता हटाऔं ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com