बुधबारदेखि धनगढीमा ‘प्रदेश–युवा सम्मेलन’ सुरु



प्रकाशित मिति : May 15, 2019

धनगढी । ‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ बुधबारदेखि धनगढीमा प्रदेश युवा सम्मेलन २०१९ सुरु भएको छ । नेपाल युवा परिषदले पहिलो पटक सुदुरपश्चिम प्रदेशमा यो सम्मेलन आयोजना गरेको छ ।

सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा सुरु भएको युवा सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेका छन् । राष्ट्रको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका हुुने हुदाँ युवाहरुलाई उद्यमशिलतामा जोड दिनु पर्ने मन्त्री सुवेदीले बर्ताए । यसै अवसरमा सुदुरपश्चिमको पर्यटन प्रचारप्रसारको लागि नेपाल युवा परिषदले निर्माण गरेको भिजिट सुदुरपश्चिम डट कमको अफिसियल वेभसाईट औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

युवा परिवर्तनका संवाहक रहेको र युवाले विश्वकै मुहार फेर्ने अठोटका साथ लक्ष्य निर्धारण गरी अगाडि बढ्नु पर्ने र सुदुरपश्चिम प्रदेश विभिन्न सम्भावना र अवसरले भरिएको प्रदेश भएकोले हरेक युवाहरु सक्रिय भएर लाग्नु पर्नेमा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले जोड दिए ।

दुई दिनसम्म चल्ने आवासीय सम्मेलनमा सहभागी युवाहरुलाई पर्यटन, सुचना प्रबिधि लगायत दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उधमशिलता, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिइने र सुदुरपश्चिम प्रदेशका युवाहरुले प्रदेश विकासका लागि कार्ययोजना बनाई प्रदेश सरकारको प्रमुखलाई बुझाउने कार्यक्रम रहेको आयोजक संस्थाका संस्थापक अध्यक्ष सरोज बानियाले बताए ।

सम्मेलनको पहिलो दिन उद्यमशिलताको विषयमा प्यानल छलफल गरिएको थियो । सो छलफलमा कैलाली उद्योग बाणिजय संघका उपाध्यक्ष पुस्कर ओझा, सामाजिक विकास मन्त्रालय युवा तथा खेलकूद महाशाखाका प्रमुख पदमराज जोशी, महिला उद्यमी रुकमणी देवकोटा र पर्यटन ब्यवसायी योगेन्द्र बम सहभागी रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com