आर्सनलका मिडफिल्डर ओजिलले नेपाली फ्यान खतिवडाको फोटो ट्विटरमा सेयर गरे



प्रकाशित मिति : May 15, 2019

काठमाडौं । इङ्लिश फुटबल क्लब आर्सनलका एक नेपाली प्रशंसक सो क्लबका मेसुट ओजिलले हस्ताक्षर गरेको जर्सी बोकेर सगरमाथा आधार शिविरमा पुगेका छन्। उनी त्यहाँ पुगेको फोटो मेसुट ओजिलले ट्विटरमा सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

काठमाडौंका निरोज खतिवडा आक्रामक मिडफिल्डर ओजिलले आफ्नो हस्ताक्षरसहित पठाएको जर्सी लिएर सगरमाथा आधार शिविर गएका हुन्।

ओजिलले आफ्नो ट्विटर अकाउन्टमा लेखेका छन्, ‘हेर्नूस्, मैले हस्ताक्षर गरेर नेपालको आर्सनल फ्यान क्लबलाई टीसर्ट पठाएपछि के भयो १ एक जनाले त्यसलाई सगरमाथा आधार शिविर ५ ३६४ मिटरसम्मै पुर्‍याए।’

त्यसपछि खतिवडाले आफु निकै खुसी भएको बताउँदै ट्विटरमै ‘आफूले त्यसलाई शब्दमा व्याख्या गर्न नसकिरहेको’ भन्दै ओजिललाई धन्यवाद दिँएका छन् ।

आर्सनल फ्यान क्लबका उपाध्यक्षसमेत रहेका खतिवडा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर गर्दैछन् । उनी विगत १० वर्षदेखि ओजिलको ‘फ्यान’ र १५ वर्षदेखि आर्सनलको समर्थक रहेको बताउँछन्।

ओजिलले गरेको ट्वीट २७ सय भन्दा बढी रिट्वीट भएको छ भने त्यसले २८ हजार भन्दा बढी लाइक पाएको छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com