विराटनगर विमानस्थलमा सौर्य एयरलाइन्सका कर्मचारीको मनपरि, यात्रु बन्छन इन्तु न चिन्तु (भिडियो)



प्रकाशित मिति : May 11, 2019

विराटनगर । कहाँ छैन लुट, कहाँ छैन मनपरि , जनता र उपभोक्ता नठगिएको ठाउँ समेत भेटिन छोडियो अब त । कुरा आकाशको यात्राको हो । देशमा प्रजातन्त्रको पुर्नवहाली भएपछि बनेको सरकारले खुला र उदार आकाश नीति लिएपछि नेपालको आकाशमा पनि निजी क्षेत्रको विमान कम्पनीहरुले ठाउँ पाए । अहिले निजी क्षेत्रका धेरै विमान कम्पनीहरुले नेपाली आकाशमा सेवा दिइरहेका छन् ।

तर, सस्तो छैन नेपालमा आकाशको उडान, त्यसमाथि उडिनु अघि बिभिन्न नाममा यसरी ठगिन्छन यात्रुहरु, त्यो झण्झटले उनीहरुलाई दोस्रो पटक आकाशबाट उडान भर्नका लागि सोच्न बाध्य हुनु पर्ने अवस्था निम्त्याउने गरेको छ । छिटो र सुविधाजनक यात्राका लागि धेरैले आकाश मार्ग नै रोज्ने गरेका छन् । तर महंगो बन्दै गएको नेपालको उडान यात्रामा यात्रुहरु बिभिन्न नाममा ठगिन विवश बन्ने गरेको घटनाहरु सार्वजनिक हुन थालेका छन् ।

अहिले बिभिन्न निजी विमानहरुले यति महिनासम्मका बालबच्चालाई निशुल्क भनेर विज्ञापन गरिरहेका छन् । यही विज्ञापनको लोभमा आफ्ना बालबच्चा लिएर विमानस्थल पुग्ने गरेका यात्रुहरु त्यतिखेर निराश बन्छन् , जब उनीहरुलाई बालबच्चाको उमेर यति जस्तो पो छ त भनेर महंगो शुल्क तिर्न बाध्य बनाइन्छ ।

मनपरिको पराकाष्ठा
सौर्य एयरलाइन्स नेपालको आकाशमा भित्रिएको निजी क्षेत्रको पछिल्लो विमान हो । अहिले यस्ले देशको बिभिन्न भागमा सेवा उपलब्ध गराइरहेकोे छ । सौर्यले गरेको पछिल्लो विज्ञापन अनुरुप यो विमानमा यात्रा गर्ने २४ महिनासम्मको बालबालिकाले यात्रा भरेको पैसा तिनु पर्दैन । अन्य विमानहरुले भने २४ महिनासम्मको बालबालिकाका लागि भनेर वीमा वापतको ५ सय रुपैयाँ लिने गरेका छन् ।

तर जब आफ्नो २४ महिना मुनिका बालबालिका लिएर अभिभावकहरु विमानस्थल पुग्छन् तब सौर्यका कर्मचारीले बालबालिका २४ महिना भन्दा माथिको भन्दै मनपरि भाडा अशुल्ने गरेका छन् । आफ्ना बालबालिकालाई न विमानस्थलमा छोडेर आफु मात्र यात्रा गर्नु नत टिकट नै रद्द गर्नु जस्तो अवस्थामा पुग्ने गरेका छन् यात्रुहरु । विराटनगर विमानस्थलमा भइरहेको सौर्यको कर्मचारीको यो मनपरिप्रति नागरिक उड्डयन कार्यालय विराटनगरका कर्मचारी, ट्राभल एजेन्ट र पब्लिक फोरमका अभियन्ताहरु अचम्मित बन्दै आएका छन् ।

जन्मदर्ता प्रमाणपत्र अनिबार्य बोक्नु पर्ने जानकारी नहुँदा या त्यसबारे जानकारी समेत नदिदा २३ महिनाका बालबालिकाका लागि २ हजारसम्म तिर्नु परेको छ यात्रुहरुले । मानिसको उमेरको जानकारीका लागि जन्मदर्ता या नागरिकता नै बलियो प्रमाण हो तर सौर्यका कर्मचारीहरु बालबालिकाको उमेरबारे जानकार झै बनेर उमेर तोकेर भाडा असुल्ने गरेका छन् । के अब जन्मदर्ता बोक्न अनिबार्य गराउने कि सौर्यका कर्मचारीहरुलाई लुट्न दिइरहने ? यो प्रश्नको समाधान चाँडै हुन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com