श्रीलङ्का बम बिस्फोट : मृतकको संख्या १०० भन्दा बढीले घट्यो



प्रकाशित मिति : Apr 26, 2019

एजेन्सी । श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा गत आइतबार भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या घटेको बताइएको छ । श्रीलङ्काली सरकारले बम बिस्फोटमा मृत्यु हुनेको संख्यामा संशोधन गर्दै मृतकको आँकडा एक सय भन्दा बढी घटाएको हाे ।

श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार बिस्फोटमा मृत्यु हुनेको संख्या लगभग दुई सय ५३ छ । यसअघि बुधबारसम्म बम बिस्फोटमा मृत्यु हुनेको संख्या ३५९ जना पुगेको श्रीलङ्काली प्रहरीले जनाएको थियो । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् ।

बिस्फोटमा मृत्यु हुनेमा धेरैजसो श्रीलङ्काली नागरिक थिए साथै थुप्रै विदेशी नागरिकको पनि मृत्यु भएको थियो । श्रीलङ्काका विदेश मन्त्रालयले मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो । जम्माजम्मी ९ बिस्फोट भएको थियो ।

बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि मङ्गलबार राति सञ्चारकर्मीसँग कुरा गर्दै देशको सुरक्षा संयन्त्रले घटनामा विदेशी संलग्नताको आशङ्का गरेको र केही तथ्य प्रमाणले त्यही देखाएको बताए ।

गएराति पनि श्रीलङ्काली प्रहरीले खोज अभियान सञ्चालन गरेको र त्यसक्रममा १८ जनलाई नियन्त्रणमा लिएको जनाएको छ । करिब ६० जनालाई पक्राउ गरिसकिएको छ ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com