ठगीको समाचार लेख्ने पत्रकारलाई समात्ने सरकार अरबौंको कर नतिर्ने एनसेललाई किन समाउन सक्दैन ?



प्रकाशित मिति : Apr 25, 2019

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर तिर्न आनाकानी गरेको बिषयलाई लिएर निकै टिका टिप्पणी भैरहेको छ । छोटकरीमा यो बिषय दर्शकहरुलाई बुझाउने प्रयास गर्छु । एनसेलले तिर्नुपर्ने कर ६० अर्ब ७१ करोड २४ लाख भनेर ठूला करदाता कार्यालयले निधारण ग¥यो ।

त्यस मध्ये २१ अर्ब ५४ करोड ८० लाख प्लस लेट फि २ अर्ब २६ करोड २३ लाख एनसेलले ति¥यो । ७ दिन भित्र बाँकी ३९ अर्ब ६ करोड ६ लाख तिर्नु पर्नेमा एनसेल होइन, आँफूले अब ३९ अर्ब होइन १४ अर्ब ३६ करोड ५३ लाख मात्र तिर्न बाँकी रहेको भनेर रिट हाल्यो । व्याज र ढिला भएको शुल्क तिर्नुपर्ने फैसलामा उल्लेख नभएकाले १४ अर्ब ३६ करोड मात्रै तिरे पुग्ने एनसेलको जिकिर छ ।

जसले जति लामो कुरा गरेपनि खास कुरो यत्ति हो । कर तिर्न भनेर दिइएको सात दिन समयको अन्तिम दिन एनसेलले फेरी मुद्धा हालेको थियो । अब दुबै पक्षको बहस सुनेर सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले तोकेको कर तिर्ने कि एनसेलले दावी गरेको कर तिर्ने भन्ने बारे निर्णय गर्नेछ । मुद्धा हाल्दै समय लम्ब्याउँदै, फेरी बाँझो हाल्न सक्ने प्रावधानहरुमा टेकेर समय लम्ब्याउने र चलखेल गर्ने परीपाटी हाम्रो मुलुकका लागि नौलो बिषय होइन ।

यसैबीच केही अभियान्ता साथीहरुले कर नतिरेसम्म एनसेलको सिम प्रयोग नै नगरौ भन्ने अभियान समेत सुुरु गर्नुभएको छ । यो अभियान पनि आवश्यक हुन सक्छ । नागरिकहरुले यस्तो दबाब मुलुक कार्यक्रम नै गर्नु पर्ने हो कि यो सरकार एनसेलसँग कर लिने ल्याकत राख्छ त्यो हेर्न जरुरी छ । मुद्धाका नौ सिंग हुन्छन् ।

कानुनका दफाहरुमा टेकेर कुनै पनि मुद्धालाई जुनी जुनीसम्म लम्ब्याउने प्रावधान भेट्टाउन कालो कोट नै लगाउन पर्दैन । कालो मन भएकाहरु नै पर्याप्त छन् । सरकारको काम कर असुल गर्ने हो । कालो टालो देखाउने सर्वसाधारण मानिसलाई, ठगीएको समाचार लेख्ने पत्रकारलाई समात्न सक्ने सरकार अरर्बोको कर नतिर्ने दाउ खोजिरहेको एनसेललाई समाउन सक्दैन ? सक्छ तर चुनावमा अधिकांश नेताले लिएको चन्दाको हिसाब निस्कियो भने धोती मात्र होइन लगौटी नै फुस्किने डरले धेरैका तालुका पसिना शरीरहका अंग–अंग हुँदै पैतालासम्म पुगेका छन् ।

कर नतिरिन्जेल सेटलाइट कनेक्सन बन्द गर्न सक्ने मुटु कसैको छ भने १ क्लिकमा एनसेलको सेवा बन्द हुन्छ, १ क्लिकमा । जनताले सिमकार्ड बुझाउनै पर्दैन । लाभकर नतिरिकन विक्रेता कम्पनीलाई भाग्न दिने फटाहाहरु चाँही झण्डा हल्लाएर हिड्ने अनि सरकारको काम जनताले गरिदिनु पर्ने ?

एनटिसीको टावर, म्यानपावर प्रयोग गरेर एनसेलको पहुँच तुलनात्मक रुपमा राम्रो सस्तो र भरपर्दो पारिएको छ । छानविन गरी त्यस्ता देशद्रोहीको खाता बन्द गरौन । सरकार भन्दा जनता कयौ गुणा शक्तिशाली छन् । तर सरकार जनताको हो भने जनतालाई दुख नदिई सरकारले ट्याक्स उठाउन सक्नु पर्छ ।
यदि सरकारले कर उठाउन सकेन जनता हो, अब के गर्ने होला भनेर मात्र हेर्छ भने त्यसपछि जन स्तरबाट एनसेललाई कर तिराउने अभियानमा डटेर लाग्न सकिन्छ । एउटा गरीब जनताले विजुलीको पैसा नतिरे कति निर्ममता पूर्वक लाइन काटिन्छ । यहाँ अरर्बौ नतिर्दा पनि हुने ? त्यसैले हामीले दबाब हाम्रो सरकारलाई दिने हो ।

अर्को कुरा एनटिसी र एनसेलको सेवाको तुलना गर्दा एनटीसिको व्यापारिक प्लान, फोजी सेवा, एडीएसएल कुन हालतमा छ, त्यसको मुल्याङकन कसले गर्ने । एनसेल भन्दा एनटिसी को सेवा राम्रो, पुहँच राम्रो, डाटा सस्तो, नेटर्वक भरपर्दो, बनाउन सके एनसेललाई हेर्न पनि पर्दैन ।

एनटीसी चलाउन कुनै प्राइभेट कम्पनीले पायो भने कुनै प्रतिस्पर्धीले पानी पनि भन्न पाउँदैन । जानाजान सरकारी सेवा प्रदायकलाई कमजोर बनाएर भित्र भित्रै एनसेललाई पोस्ने र देशलाई सोस्नेहरुलाई बहिस्कार गरौ पहिला । एनसेललाई कर छल्न सहयोग पु¥याउने राजनीतिक दल जुनसुकै होस, नेता जो सुकै हुन सबै भन्दा पहिला तिनलाई बहिस्कार गरौं ।

अन्य क्षेत्रमा बेथिती मौलाएको देशमा आम जनताले के–के मात्र बहिष्कार गर्ने ? बाइड बढीमा घोटाला भयो नेपाल बायुसेवा निगम बहिष्कार गर्ने ? भू–माफियाहरु मिलेर बालुवाटर बेचे, बालुवाटार तिर हिड्नै बहिस्कार गर्ने ? भाटभटेनीले भ्याट छल्यो रे भाटभटेनीमा किन्नै बहिष्कार गर्ने ? कर नतिर्ने एनसेललाई तहलगाउन सरकार सक्षम छ र हुनु पनि पर्छ ।

अदालत जाँदै आलटाल गर्दै, समय विताउँदै छल गर्ने नियत देखाइरहेको एनसेलले सायद धेरैलाई किन्ने क्षमता राख्छ । नदि–नाला वन जंगल मात्र होइन नैतिकता, सिद्धान्त, आदर्श सबका सब कौडीको मुल्यमा बेच्न तयार केही राजनीतिज्ञसँगमात्र हामीलाई डर छ त्यस्ता जाबा एनसेलसँग कुनै पनि डर छैन ।

आफ्नै नीति निर्माताहरु विकाउ भैदिए भने एनसेलको सिम फालेर के हुन्छ । एउटा एनसेल जान्छ अरु कयौ एम,एन,ओ,पी,क्य,आर,एस,टि सेलहरु आउँछन् । चुनावमा सघाउँछन्, अरब बचाउन करोड खुवाउँछन्, यो देश लुटछन् र फरार हुन्छन् ।

त्यसैले सरकार एनसेलको बहानाबाजी ठीक गर्न एक क्लिक र एउटा स्विच पर्याप्त छ, भन्ने हामीलाई क्लियरली थाहा छ । सकिदैन भने जनतालाई भनि मात्र हेर सरकार, १० बर्षमा हुन नसकेको काम हामी जनता मिलेर १० घण्टामा फत्ते गरिदिन्छौं । मिल्छ भने आउ सरकार बाजी थापौं ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com