२०७२ सालको ‘गोरखा’ भू–कम्पपछिको ४ वर्षमा ४५ हजार परकम्प



प्रकाशित मिति : Apr 25, 2019

काठमाडौं । २०७२ सालको ‘गोरखा’ भू–कम्पपछि निरन्तर परकम्प भइरहेका छन् । पछिल्लो परकम्प बुधबार विहान धादिङको नौबिसेमा भयो । गोरखा भूकम्पपछिको चार वर्षमा ४ म्याग्नेच्युड माथिका नै ५ सय २० पराकम्पन भएका छन् । परकम्प किन निरन्तर भइरहेको छ त ?

तीन वर्षअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालयका भू–गर्भ वैज्ञानिकले गरेको सोधअनुसार २०७२ सालमा गोरखा र सिन्धुपाल्चोक केन्द्रविन्दू बनाएर गएका भू–कम्पको तरंग काठमाडौंको दक्षिणी भू–सतहभन्दा ११ किलोमिटर तल अड्किएर बसेको छ । त्यो चिरा सतहसम्म आइनपुग्नु र त्यसको शक्ति काठमाडौंमुनि थुप्रिनु नै यो क्षेत्रमा निरन्तर परकम्प भइरहनुको कारण हो ।

भू–गर्भविद्का अनुसार ठूलो धक्का आउँदा चुरे फेदमा जमिन चिरा परेर शक्ति निष्कासन हुनुपर्छ । तर, काठमाडौं हुँदै दोलखासम्म पुगेको २०७२ सालको भू–कम्पले चुरे फेदको जमिन चिरा पार्न सकेन । सकेको भए संभवत त्यो भू–कम्पको परकम्प यसरी जारी रहने थिएन ।

२०७२ वैशाख १२ को भूकम्पले हल्लाएर धाँजा–धाँजा पारेका जमिनमै परकम्प भइरहेको भूकम्प मापन केन्द्रले जनाएको छ । चार वर्षमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प भएका छन् । केन्द्रका अनुसार गोरखा भूकम्पपछि ४५ हजार परकम्प भएका छन् । जसमध्ये चार म्याग्नेच्युट भन्दा माथिकै परकम्प ५ सय बढी छ ।

अहिलेका साना–साना झट्का जबसम्म २०७२ अघिको अवस्थामा फर्कंदैन, तबसम्म तिनलाई परकम्पनकै रूपमा हेरिने भू–कम्पविद् बताउँछन् । केन्द्रका अनुसार वैशाख १२ को प्रभावक्षेत्रमा अहिले भइरहेका धक्का सामान्यभन्दा लगभग चार गुना बढी छ । अहिलेको अवस्था हेर्दा परकम्पन आउने क्रम अझै १०–१५ वर्ष जारी रहने केन्द्रका अधिकारी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com