धनुषामा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन कडाई



प्रकाशित मिति : Apr 25, 2019
  • घनश्याम मिश्र,

धनुषा । सर्वोच्च अदालतको पछिल्लो आदेशपछि प्रायः सबै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन थालेका छन् । तर, धनुषाले भने त्यस्तो नागरिकता वितरणमा कडाइ गरेको छ ।

गृहमन्त्रालयले चैत १९ मा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गरेपनि धनुषामा भने प्रक्रिया अगाडि बढाइएको थिएन । चैत २५ गते सर्वोच्चले दोस्रो आदेश दिएपछि मात्रै यहाँ त्यससम्बन्धि प्रक्रिया सुरु गरिएको हो । तर, नागरिकता भने दिइएको छैन । जिल्ला प्रशासन कार्यालयमा अचेल नागरिकता लिन विहानैदेखि सेवाग्राहीको घुँइचो लाग्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले अहिले नागरिकता लिन चाहने जन्मसिद्ध नागरिकका सन्तानको दरखास्त मात्रै लिइरहेको छ । कसैले अनुचित लाभ नलिउन भनेर आवेदनको गहिरो अध्ययन गरेर मात्रै पारदर्शी र जवाफदेही रुपमा नागरिकता वितरण गरिने भन्दै स्थानीय प्रशासनले सेवाग्राहीलाई केही समय धैर्य गर्न आग्रहसमेत गरेको छ ।

सबै आवेदनको क्रमशः अध्ययन गरेर नागरिकता दिइने बताइएको छ । जसकारण वितरण सुरु भनिए पनि हालसम्म कसैले पनि नागरिकता पाएका छैनन् ।

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीले गृह मन्त्रालयको परिपत्र तत्काल कार्यान्वयन नगर्न दिएको आदेश चैत २५ गते न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठले खारेज गरिदिएपछि जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खुलेको थियो । तर, यसबारे जनस्तरमा भने विवाद कायमै छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com