‘म बनाउँछु मेरो धरहरा’– निर्धारित समयमै धरहरा निर्माण सम्पन्न हुने



प्रकाशित मिति : Apr 25, 2019

काठमाडौं, १२ बैशाख । विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ । बिहीवार काठमाडौंमा धरहरा पुनः निर्माणको कार्य प्रगति तथा धरहरा सम्बत ००५ को बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुब गजुरेलले धरहरा पुनः निर्माणको लागि भएका प्रयासहरुको बारेमा प्रकाश पार्नुभएको छ ।

आफूले साहित्य लेखनको माध्ययमबाट धरहरा निर्माणको लागि करोडौ रकम संकलन गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको माध्ययमबाट सरकारलाई बुझाईसकेको पनि उहाँले जानकारी गराउनुभयो ।

संसरमा ९ रेक्टर स्केलभन्दा माथिका धेरै पराकम्पबाट नागरिकले ठूलो जनधनको क्षति व्यहोरिसकेको जानकारी गराउहुँदै उहाँले नेपालले पनि ७ रेक्टर स्केलका पराकम्पहरुले ठूलै क्षति गराएपनि इतिहासले आफूहरुलाई पाठ पनि सिकाएको उहाँको भनाइ छ ।

निर्माणाधीन धरहरा भुकम्प प्रतिरोधात्मक र सुरक्षित बन्नुपर्ने भन्दै उहाँले प्रकाशनमा ल्याएका पुस्तक ‘ईतिहाँसमा २०७२’ र ‘ऋतु’ बाट संकलन भएको सम्पुर्ण रकमपनि धरहरा निर्माणमा लगाइने विश्वास दिलाएउनुभयो ।

धरहरा निर्माणकै लागि आफुहरुले ‘हनुमानको नेपाल यात्रा’ र धरहरा बनाउने देउसी कार्यक्रमको भिडियोबाट पनि केही रकम संकलन गरेको उहाँको भनाइ थियो । २०७२ सालमा देशले थुप्रै संघर्ष गरेका कारणपनि त्यस वर्षदेखि धरहरा सम्बतको सुरुवात भएको उहाँले जनाए । संबिधान जारी हुँदा भोगेको संकट, भारतीय अघोषित नाकाबन्दी, तराई आन्दोलन र महाभूकम्पको पीडाले धरहरा सम्बतको सुुरुवात भएको उहाँको भनाइ थियो ।

त्यस्तै, कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले विनाशनै विकासको जननी भएका कारण अब बन्ने धरहरा नमुनाकै रुपमा निर्माण गरिनुपर्ने धारणा राखनुभएको छ ।

देशमा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यमा ढिलासुस्ती देखिँदै आएपनि धरहरा निर्माणको लक्ष्य सरकारले समयमै सक्नुपर्ने उहाँको धारणा छ । विनाशले ल्याएको विकासमा आफुहरु सबैले सहयोग गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘ईच्छाशक्ति भए ध्रबजीलेजस्तै करोडौ रकम उठाउन सफल हुन सकिनेछ ।’

साहित्य र लगनशीलताबाट करोडाैं रकम सहयोग उठाउनु कुनै चानचुने कुरा नभएको उहाँले स्पष्ट पार्नुभयो । चीनले १९ दिनमा ६४ तले भवन निर्माण सम्पन्न गरेर देखाएको सन्दर्भ निकाल्दै आफुहरुलेपनि चीनको विकासबाट पाठ सिक्न आवश्यक रहेको सांसद मानन्धरको भनाइ छ ।

सरकारले ठेकेदारलाई जिम्मेवारी दिइसकेकोे कारण पनि अब पुनः निर्माण कार्य समयमै सम्पन्न हुनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै डा. नारायणहरि गजुरेलले २०७२ सालको बिनासकारी भूकम्पको समयमा नेपालीहरु पीडामा रहेको बेला ध्रुब गजुरेलले शोकलाई शक्तिमा बदल्ने प्रणस्वरुप धरहरा निर्माणको अभियानमा लाग्नुले आज धरहरा निर्माण कार्य अघि बढेको स्पष्ट पार्नुभयो । नयाँ सम्बतको घोषणा र साहित्यको माध्ययमबाट धरहरा सम्बतलाई निरन्तरता दिईराख्न आवश्यक रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै धरहरा निर्माण कार्यमा लागेका रमन कन्ट्रक्सनका प्रोप्राईटर रमन महतोले निर्माणाधिन धरहराको कार्य प्रगति र आगामी ओजनाको बारेमा जानकारी गराउनुभएको छ । आफू सरकारको ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियानमा लागेको बताउदै उहाँले सरकारसंगको आधिकारिक सम्झौतापश्चात् धरहरा निर्माण कार्यको प्रगति रहेको विश्वास दिलाउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com