बाँकी रहेको पुनर्निर्माणको काम बीस महिनाभित्र सक्न प्रधानमन्त्रीकाे निर्देशन



प्रकाशित मिति : Apr 25, 2019


काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

चार वर्षअघि भएको भूकम्पको स्मृतिमा काठमाडौंको बसन्तपुरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँकी रहेको पुनर्निर्माणको काम बीस महिनाभित्र सक्न निर्देशन दिनुभएको छ । पुनर्निर्माणको नेतृत्वका लागि गठित प्राधिकरणको समयावधि पनि बीस महिना मात्रै बाँकी छ । भूकम्पीय जोखिमबाट निराश नहुन सर्वसाधारणलाई अपिल गर्नुभएका प्रधानमन्त्रीले भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि सरकारले सबै खालको सहयोग गरिरहेको र गर्ने पनि बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उदाहरणीय हुने गरी प्राधिकरणले तोकिएकै समयमा पुनर्निर्माणको काम सक्ने दावी गर्नुभयो । यसअघि प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर र बसन्तपुरस्थित काष्ठमाण्डपको अवलोकन गर्नुभएको थियो ।

सोक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्रधाकरण र काठमाडौं महानगरपालिकाको नेतृत्वलाई मौलिकता जोगाएर सम्पदा क्षेत्रको पुनर्निर्माण गर्न निर्देशन दिनुभएको थियो । जारी पुनर्निर्माणप्रति खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा काम रोकिने अवस्था आउन नदिन पनि सचेत गराउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com