बागेश्वरी सामुदायिक वनको अवैधधन्दा : नदीजन्य पदार्थ निकासीमा उपभोक्तासंग रकम असुली



प्रकाशित मिति : Apr 25, 2019
  • मनोज श्रीवास्तव

कपिलवस्तु । कपिलवस्तुको बागेश्वरी सामुदायिक वनले नदीजन्य पदार्थ निकासी ठेक्कामा उपभोक्ताहरुसंग अवैध पैसा असुली गरिरहेको छ । बाणगंगा नगरपालिकाले बाणगंगा नदीको भगलापुर नाका क्षेत्रमा लगाएको नदीजन्य पदार्थ निकासी ठेक्कामा बागेश्वरीले उपभोक्ताहरु संग अतिरिक्त रकम असुल गरेको हो ।

प्रदेश सरकारको घाटगद्धी मापदण्डकै कारण नदीजन्य पर्दाथमा चर्को मुल्य तिरिरहेका उपभोक्ताहरु संग सामुदायिक बनले थप रकम उठाउदै आएको छ । नदीजन्य पर्दाथ लिन जाने सवारीहरुलाई सामुदायिक बनका पदाधिकारीले प्रति साधन २ सय रुपैया लिने गरेको छन् ।

“बालुवा बोक्ने बाटो हाम्रो हो, पैसा देउ नत्र गाडी हिड्न दिदैनौ भन्छन् ” जहदीका ट्रिपर चालक सुन्दर चौधरीले भन्नुभयो । पैसा नदिइ सुख्खै छैन, गाडी रोकेर दादागिरी गर्छन उहाले गुनासो गर्नुभयो । “घाटगद्धि पद्धतीले तेब्बर महंगोमा बालुवा किन्नु परेको छ, त्यसमाथि सामुदायिक बनले २ सय रुपैया लिन्छ, अनि कसरी सस्तोमा उपभोक्तालाई दिन सकिन्छ ” निग्लीहवाका बालुवा व्यापारी मोटे यादवले भन्नुभयो ।

बागेश्वरी सामुदायिक बनले अहिले मात्र होइन यस अघि पनि थुप्रै पटक अवैध असुली गरिसकेको स्थानीयहरुको आरोप छ । सामुदायिक बनको कार्ययोजना वा बन ऐन २०४९ मा संस्थागत, दातृनिकाय सहयोग वा अनुदान बाहेक अरु विषयमा रकम उठाउन नमिल्ने डिभिजन बन कार्यालय कपिलवस्तुका सहायक बन अधिकृत मदनमोहन शाण्डिल्य बताउनुहुन्छ । “बनपैदावार उत्पदान गर्ने, समुदायले उपभोग गर्ने गरि बन संरक्षण गर्न समुदायलाई बन हस्तान्तरण गरेका हौ, बनमा जथाभावी बाटो हाल्ने, अवैध रकम असुल गर्ने, बन ऐन विरुद्ध क्रियाकलाप गर्नलाई होइन” उहाले भन्नुभयो ।

स्थानीय क्षेत्रको विकास गर्ने, पूर्वाधार निर्माण गर्ने तथा विभिन्न बहानामा अवैध रुपमा उठाइएको रकम त्यसै गरि नै खर्च हुने गरेको छ । सामुदायिक बनका अध्यक्ष कल्लु थारुले समुदायको विकासका लागि सहयोग उठाएको दाबी गर्नुभयो । सामुदायिक बनले अवैध रुपमा रकम उठाउदा समेत सम्बन्धित वडाअध्यक्ष तथा नगरपालिकाका जनप्रतिनिधी रमिते बनेका छन् ।

“सामुदायिक बनले अवैध रुपमा रकम उठाउने र बाटो, विद्यालय, शिचाईमा काम गर्ने भए वडा र नगर किन चाहियो” स्थानीय बुधई चौधरीले भन्नुभयो । सामुदायिक बनले ठेक्का सुरु भए यता करिब ६ लाख रकम उठाइसकेको छ ।

बागेश्वरी सामुदायिक बनले बन ऐन, स्थानीय सरकार ऐन तथा चन्दा ऐन उलङ्घन मात्र गरेको छैन, उपभोक्ता हकहित संरक्षण ऐन विरुद्ध क्रियाकलाप गरेको उपभोक्ताहरुको आरोप छ । आफैले दर्ता गरेको सामुदायिक बनको कार्ययोजना विरुद्ध बागेश्वरीले विगत ४ बर्ष देखि असुली धन्दा चलाउदै आएको स्थानीयबासीहरु बताउछन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलले मौखिक रुपमा बागेश्वरी बनका अध्यक्ष कल्लु थारुलाई तत्काल अवैध गतिविधि बन्द गर्न निर्देशन दिएपनि उनले भने अटेरी गरि बालुवा बोकेका साधनहरु संग रकम उठाइरहेका छन् । यता सामुदायिक बनका अध्यक्ष थारुले समुदायिको विकासका लागि रकम उठाएको बताउनुभएको छ । “उठाउनु गलत हो थाहा छ तर समुदायको विकास गर्नका लागि लिएको हो,” उहाले भन्नुभयो ।

स्थानीय सरकारकै अगाडी १ महिना देखि हाकाहाकी रकम उठाउदै आएको वागेश्वरी बनको अवैध असुल बारे बाणगंगा नगरपालिकाले अनभिज्ञता प्रकट गरेको छ । उपप्रमुख चक्रपाणी अर्यालले अवैध असुली बारे थाहा नभएको र त्यस्तो भए तत्काल कानूनी कारवाहीको दायरामा ल्याइने जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com