‘जिउँदो सहिद’ काभ्रेका मुकेश कायस्थ १४ वर्षदेखि ओछ्यानमै



प्रकाशित मिति : Apr 24, 2019

काभ्रे । दोस्रो जनआन्दोलनका क्रममा गोली लागेर घाइते भएका काभ्रेका मुकेश कायस्थ अझै ओछ्यानमा छन् । २७ चैत २०६२ मा सुरक्षाकर्मीको गोलीबाट १४ वर्षका मुकेश घाइते भएका थिए । गणतन्त्र स्थापनाका लागि ज्यानको बाजी लगाएर ०६२÷०६३ को जनआन्दोलनमा घाइते कायस्थको परिवारले भने अझै देशमा परिवर्तन आएको महशुस गर्न सकेको छैन ।

२६ चैत २०६२ मा बनेपा–४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रे झन आन्दोलित भयो । र, त्यही क्रममा चैत २७ गते सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन् । गोली लाग्दा १४ वर्षको मुकेश अहिले २८ वर्षका भए ।

मुकेशलाई जनताले ‘जिउँदो सहिद’को विशेषण दिएका छन् । तर, उनको पारिवारिक अवस्था भने निकै दयनीय छ । मुकेशका लागि सरकारले औषधी खर्च, एक जना अहेब र कुरुवाको ब्यवस्था गर्दै आए पनि एक बर्ष यता अहेबको सुविधा रोकिएको छ ।

समय बित्दै जाँदा राजनीतिक दल र सरकारले आन्दोलनको मर्म र भावना भुल्दै गएको बताउने मुकेशको परिवार आन्दोलन सफल बनाउन भूमिका खेल्नेलाई आझेल पार्न थालिएको गुनासो गर्छन ।

घरमै यसरी उपचार गर्न नसकिने भन्दै परिवारले मुकेशको नामबाट पुनःस्थापना केन्द्र खोलेर अन्य यस्तै विरामीको पनि उपचार गर्ने व्यवस्था गर्न माग गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com