
काठमाडौं । वेल्ट एण्ड रोड इनिसिएटिम्भ बीआरआई अन्तर्गतका परियोजनामा नेपालले ९ वटा सूची तयार पारेको छ । बुधबारबाट राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले बीआरआईमा नेपालको बलियो उपस्थिति हुने सरकारी दाबी छ । तर, मंगलबारसम्म पनि नेपालले तयार पारेका सूचीमा चीनसँग छलफल हुन बाँकी नै रहेको बताइन्छ ।

परराष्ट्रमन्त्रालयका अधिकारीहरुका अनुसार समयको अभाव र पर्याप्त गृहकार्यमा बीआरआई अन्तर्गत नेपालले तयार पारेको सूचीबाट दुई वटा योजना हट्न सक्नेछ । तर पनि चीनसँगको छलफललाई निरन्तरता दिंदै अन्तिम समयसम्म नेपाली प्रस्तावमा समझदारी गराउने सरकारले प्रयास जारी राख्ने बताएको छ । त्यसमध्ये सम्झौता भइसकेका परियोजना समेत पर्ने छन् ।
सरकारले तयार पारेका ९ विषयः
- –रसुवागढी–काठमाडौं सडकको स्तरोन्नती
- –किमान्थांका–हिले सडक निर्माण
- –दिपायलदेखि दक्षिण चिनियाँ सीमासम्मको सडक
- –टोखा–विदुर सडक
- –गल्छी–रसुवागढी–केरुङ ४०० केभी ट्रान्समिसन लाइन
- –केरुङ–काठमाडौं रेल मार्ग
- –तमोर जलविद्युत परियोजना (७६२ मेगावाट)
- –फुकोट कर्णाली जलविद्युत परियोजना (४२६ मेगावाट)
- –मदनभण्डारी पोलिटेक्निक इन्स्टिच्यूट
यी परियोजनाहरु मध्ये अधिकांश अध्ययन र निर्माणको तयारीमा छन् । नेपालले सन् २०१७ मा हस्ताक्षर गरेपछि सरकारले बीआरआई अन्तर्गत परियोजना प्रस्ताव गर्नका लागि दुई वटा समिति बनाएको थियो । परराष्ट्र सचिव र अर्थ सचिवको नेतृत्वमा समिति गठन भएका थिए । यी समितिले ३५ वटा परियोजनाको सूची तयार पारेको थियो ।
चीनको पछिल्लो आग्रहमा ९ वटामा झारिएको हो । चीनले ‘वन डिजिट’ अर्थात एक अंकमा परियोजनाको सूची तयार पार्न आग्रह गरेपछि सरकारले यो तयारी गरेको हो । चीनसँग कति परियोजनामा अनुदान लिने र कतिमा ऋण लिने भन्ने विषयमा निक्र्योल गर्न बाँकी रहेको परराष्ट्रविद्हरुले बताएका छन् ।