भोट हाल्नुअघि मोदीले लिए आमाको आशीर्वाद, अमित शाह र राहुल गान्धीकाे भाग्य के हाेला ?



प्रकाशित मिति : Apr 23, 2019

एजेन्सी । भारतमा लोकसभाका लागि भइरहेको आम निर्वाचन अन्तरगत तेस्रो चरणको मतदान सुरु भएको छ । आज मङ्गलबारदेखि भारतका १४ राज्य तथा केन्द्रशासित स्थानमा गरी कुल ११५ निर्वाचन क्षेत्रमा मतदान सुरु भएको बिबिसीले जनाएको छ ।

सत्ताको बागडोर हेरफेर गर्ने यो चुनाव सात चरणमा सम्पन्न हुनेछ । यसअघि दुई चरणको मतदान सकिएको छ । यी मतदानबाट अधिकांश क्षेत्रमा क्षेत्रीय दलको उपस्थिति पनि बलियो रहेको बताइन्छ ।

आज मतदान सुरु भएका मध्य प्रदेश, राजस्थान, गुजरात, झारखण्ड र हरियाणाजस्ता प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) को जन परीक्षण समेत हुने ठानिएाको छ । यी क्षेत्रमा भाजपा अघिल्लो चुनावमा बलियो थियो, यसपटक भारतीय कंग्रेससँग उसको मुख्य टक्कर रहेको बताइन्छ ।

१ सय १७ लोकसभा सिटका लागि हुने आजको निर्वाचनमा गुजरात, केरला, महाराष्ट्र र कर्नाटकको ७४ सिटलाई भने महत्वपूर्ण मानिएको छ । १ सय १७ सिटका लागि १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये ३ सय १४ उम्मेदवार राष्ट्रिय दलबाट, ७६ जना क्षेत्रीय दलबाट, ४ सय ९२ जना गैर मान्यता प्राप्त दलबाट र ७ सय १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

माेदीसहित मुख्य नेताकाे भाग्य निर्धारण

यस तेस्राे चरणकाे चुनावलाई महत्वका साथ हेरिएकाे छ । प्रधानमन्त्री नरेन्द्र माेदी, भाजपा अध्यक्ष अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी, जया प्रदा र आजम खानसहितका ठूला नेताहरुको यही चरणकाे चुनावले भाग्य निर्धारण गर्दै छ ।

भाजपा अध्यक्ष शाह गुजरातको गान्धीनगरबाट चुनाव लडिरहेका छन् भने कांग्रेस अध्यक्ष गान्धी केरलाको वायनाडबाट चुनाव लडिरहेका छन् ।

आजै प्रधानमन्त्री मोदीले पनि आफ्नो क्षेत्र गुजरात पुगेर मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले भोट हाल्नुअघि आमालाई भेटेर आशीर्वाद लिएको बताइएको छ । आमालाई भेट्दा मोदीले पाउ ढोग्दै प्रणाम गरे । आमा हिराबेनले पनि मोदीलाई निधारमा रातो टीका लगाइदिएर विजयका लागि आशीर्वाद दिएको बताइएको छ । मोदीले आमालाई मिठार्इ खुवाउनुका साथै पछ्यौरा उपहार दिएका थिए ।

अहमदावादस्थित मतदान केन्द्रमा मोदी आफ्नी नातिनीका साथमा देखिएका थिए । सबै चरणकाे मतदानपछि मे २३ का दिन मात्रै नतिजा सार्वजनिक हुने बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com