५ बैशाख २०७६, बिहीबार

काठमाडौं। केही दिन अघि राष्ट्रिय सभागृहबाट प्रमुख प्रतिपक्षी दल कांग्रेससहित मोर्चा बन्दी गरेका ११ दलका विद्यार्थी सङ्गठनले सरकारविरुद्द प्रदर्शन गर्ने भएको छ । प्रतिपक्षी दलका ११ विद्यार्थी सङ्गठनले बुधबार एक विज्ञप्ति जारी गर्दै वैशाख १३ गते काठमाडौंको माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गर्ने जनाएको छ।

केपी ओली नेतृत्व वर्तमान सरकार सर्वसत्तावादी र पूर्ण भ्रष्टाचारी प्रमाणित भएको भन्दै त्यसको प्रतिकार गर्न प्रदर्शन गर्न लागेको नेपाल विद्यार्थी संघ (नेविसंघ) आर आर क्याम्पसका सचिव अनुराग शाहले जानकारी दिए।

अनेरास्ववियुको केन्द्रीय कार्यालय रातोपुल काठमाडौंमा सप्पन्न भएको संयुक्त विद्यार्थी सङ्गठनको बैठकले विज्ञप्ति जारी गर्दै केही दिन अगाडि ११ प्रतिपक्ष दलको बिचार गोष्ठीलाई लक्षित गरेर प्रधानमन्त्री केपी ओलीले ‘नन्दि भृरिङ्गि’हरुको भेला भनेर गर्नुभएकाे टिप्पणीलाई ‘नीच’ टिप्पणी भएको भन्दै त्यसलाई तत्काल सच्याएर सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।

विज्ञप्तिमा शैक्षिकशत्र सुरु भएसँगै निजी शैक्षिक संस्थाहरूले ४०% सम्म बढी शुल्क असुलेको तथ्य सार्वजनिक भएको भन्दै यसरी असुल गरेको शुल्क विद्यार्थी र अभिभावकलाई फिर्ता गर्न माग पनि गरेका छन् ।

२०७५ असार १८ गते संयुक्त विद्यार्थी सङ्गठन, शिक्षा मन्त्रालय, प्याब्सन, एन प्याब्सन लगायतसँग भएको सहमति लागू गरी चर्को शुल्क असुल्ने उपर कडा कारबाही गर्न विद्यार्थी संगठनले माग गरेका छन्।

नेपालमा मेडिकल र इन्जिनियरिङ शिक्षामा निजी कलेजहरूले अत्यन्तै मनोमानी ढंग शुल्क असुलेर आम विद्यार्थी र अभिभावकलाई निर्दयी र अमानवीय ढङ्गले गरेको आर्थिक शोषण प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै गैरकानुनी ढंगले उठाएको पैसा तत्काल फिर्ता गर्न सम्बन्धित कलेजहरूलाई चेतावनी पनि दिएको छ।

बैठकमा विश्वविद्यालयमा भएको राजनीतिक भागबन्डा बन्द गर्न पनि माग गरिएको छ।

LIVE TV