संसारलाई नै चकित पार्ने कर्मचारी समायोजनको वास्तवमै चकित पार्ने घटना सार्वजनिक



प्रकाशित मिति : Apr 17, 2019
  • उत्तर विष्ट,

काठमाडौं/डडेलधुरा, ४ बैशाख । कर्मचारी समायोजन सकेर विश्वलाई चकित पारेको बताउनु हुने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भन्नु भए झै संसार नै चकित हुने घटना सार्वजनिक भएको छ । समायोजनमा १३ बर्ष अघि मृत्युवरण गरेका एक व्यक्ति पनि सरुवाको सूचीमा समावेश भएपछि मन्त्री पण्डितले भने झै अहिले सबै चकित परेका छन् ।

१३ वर्षअघि मृत्युवरण गरेका डडेल्धुराका एक तत्कालीन स्वास्थ्यकर्मीलाई समेत कर्मचारी समायोजनको सूचीमा राखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य कर्मचारीको समायोजन सूचीमा स्वर्गीय अहेव टेकबहादुर पाललाई डडेल्धुरा जिल्लाको शिरिष स्वास्थ्य चौकीमा खटाइएको छ ।

३० हजार स्वास्थ्यकर्मीको समायोजन गर्दा २० हजारको गुनासो छ गुनासो नहोस् पनि कसरी ? समायोजनमा यत्तिसम्म लापरबाही भएको छ की १३ बर्ष अगाडि मृत्युवरण गरेका साबिकको देवल दिव्यपुर–७, डडेल्धुरा स्थायी घर भएका अहेव टेकबहादुर पाललाई समेत सरकारले अहिले सम्म कार्यरत कर्मचारीको सूचीमा राखेको रहेछ । दशकअघि मृत्यु भइसकेका कर्मचारीलाई आफ्नो कार्यालयमा खटाइएको जानकारी पाएपछि दिव्यपुर–७, डडेल्धुरा को शिरिष स्वास्थ्यचौकीले प्रमाणसहित मन्त्रालयमा उजुरी पेश गरेको छ ।

संघीय मामला तथा सामान्य प्रसासन मन्त्रालयको समायोजन सूचीमा चौथो तहका स्वास्थ्यकर्मी भनेर पाललाई उल्लेख गरिएको छ । अहेब पालको १३ वर्षअघि नै १० माघ २०६३ मा निधन भएको थियो ।

शिरिष स्वास्थ्य चौकीले स्वर्गीय पालको घरमा सम्पर्क गरी निजको पारिवारिक निवृत्तिभरणको प्रमाणपत्रसहित मन्त्रालयमा गुनासो दर्ता गराएको हो । सरकारले मृत्युको यति लामो समय बितिसक्दा पनि सरकारी रेकर्डमा पाललाई कार्यरत कर्मचारीकै सूचीमा राख्नु र समायोजन गरेर कतै खटाउनुले सरकार संयन्त्र कति कमजोर छ भन्ने पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com