साहित्यकला मन्दिरले स्रष्टासम्मान रजत वर्ष मनाउदैँ



प्रकाशित मिति : Apr 17, 2019

काठमाडौँ । साहित्यकला मन्दिरले स्रष्टासम्मानको २५औं वर्ष पूरा गरेको अवसरमा भव्यरूपमा स्रष्टासम्मानको रजत वर्ष मनाउने भएको छ । हालै मात्र मन्दिरले एक प्रेस विज्ञेप्ती सार्वजनिक गर्दै रजत वर्ष मनाउन लागेको जानकारी दिएको हो ।

निरन्तर रुपमा सर्जक–कलाकारहरूको सम्मानमा विगत वर्षहरूदेखि नै प्रदान गर्दैँ आएको विभिन्न सात सम्मानहरूका अतिरिक्त यस वर्षदेखि अग्रज कवि गोपालप्रसाद रिमालको नाममा थप एक सम्मान– गोपालप्रसाद रिमाल काव्यसम्मान पनि सुरु गरिएको विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

साहित्यकला मन्दिरले यस वर्ष यी सम्मानहरूबाट क्रमशः आख्यानकार श्री पद्मावती सिंह (गङ्गादेवी चौधरी स्मृतिसम्मान), अग्रज साहित्यिक इतिहास–अनुसन्धाता श्री मोदनाथ प्रश्रित (इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान), वरिष्ठ साहित्यिक पत्रकार श्री अच्युतरमण अधिकारी (सरस्वतीसम्मान), लोक, आधुनिक संगीतका प्रसिद्ध साधक श्री गणेश रसिक (नारायणगोपाल संगीतसम्मान), नेपाली चित्रकला क्षेत्रका विशिष्ट साधक श्री किरण मानन्धर (अरनिको ललित कलासम्मान), रंगमञ्च क्षेत्रकी विशिष्ट अभिनेत्री भुवन थापा चन्द (बालकृष्ण सम रंगसम्मान), वरिष्ठ कवि दिनेश अधिकारी (गोपालप्रसाद रिमाल काव्यसम्मान) र फरक क्षमता भएकी सृष्टि केसी (नेपाल नवप्रतिभासम्मान) लाई सम्मानित गर्ने निर्णय समेत गरेको छ ।

गंगादेवी चौधरी स्मृति सम्मानका लागि नगद रु. १ लाख १ रुपैयाँका साथै प्रशस्ति–पत्र र अन्य प्रत्येक सम्मानका लागि रु. ५१ हजार नगदका साथै प्रशस्ति–पत्र समेत रहेको छ । उक्त सम्मानहरू संस्थाद्वारा यही बैशाख २७ गते, शुक्रवारका दिन काठमाडौंस्थित अग्रवाल सेवा केन्द्रमा आयोजना गरिने समारोहमाँझ प्रदान गर्ने संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com