मुलुकमा अनुशासनहिनता बढ्दै गर्दा नैतिकता र अनुशासन सिकाउन आवश्यकः मुख्यमन्त्री राई



प्रकाशित मिति : Apr 17, 2019
  • तारा आचार्य

विराटनगर, ४ बैशाख । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले मुलुकमा अनुशासनहिनता बढ्दै गएको अवस्थामा विद्यालयस्तर बाटै नैतिकता र अनुशासन सिकाउने गरी नेपाल स्काउटको विकास र विस्तार गर्नुपर्ने बताउनु भएको छ ।

बुधवार विराटनगरमा एक नम्बर प्रदेश स्तरीय स्काउट आधारभूत तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले आगामी वर्षको बजेटमा स्काउटका लागि छुट्टै बजेट विनियोजन गरिने जानकारी दिनुभयो । उहाँले एक नम्बर प्रदेशका १३७ वटै पालिका तथा त्यस अन्तर्गतका विद्यालयहरुमा स्काउटको युनिटहरु विस्तार गरिने बताउनु भयो ।

नेपाल स्काउटले आयोजना गरेको ६ दिने तालिम कार्यक्रममा एक नम्बर प्रदेशका १४ जिल्लाका ३२७ पुरुष र १९५ जना महिलाहरु सहभागी भएका छन् ।

उनीहरुलाई १९ वटा विषयमा तालिम दिन लागिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँले नेपाल स्काउट सम्बन्धी ऐन तयारीका क्रममा रहेको र प्रत्येक विद्यालयमा एउटा स्काउटको युनिट स्थापना गर्ने आफ्नो कार्ययोजना रहेको जानकारी दिनुभयो । उहाँले विद्यालयस्तरबाट अनुशासन र राष्ट्रप्रेमको भावना जागृत गराउन स्काउटले विशेष भूमिका खेल्ने र मुलुकले योग्य र सक्षम नागरिक पाउने धारणा समेत व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com