३ बैशाख २०७६, मंगलवार
  • कृष्ण थपलिया,

सर्लाही । ३ वैशाख । सर्लाहीको दक्षिणी —पश्चिम क्षेत्रमा पर्ने धनकौल गाउँपालिकामा जङ्गली जनावरबाट बालीनाली जोगाउन थापिएको विद्युतीय धरापमा परि मंगलवार एक जनाको मृत्यु भएको छ ।

धनकौल–७, गैरिया टोलका जगदीश रायको खेतमा थापिएको विद्युतीय धरापमा परि स्थानीय ३० वर्षीय लालबाबु सहनीको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । बँदेल, निलगाई, लगायतका जङ्गली जनावरबाट आजित भएका सर्लाहीका किसानले बालीनाली जोगाउन खेतबारीमा विद्युतीय धराप राख्न थालेपछि मानिसहरुको मृत्युहुने संख्या बढ्न थालेको छ ।

त्यस्तै मंगलवारनै जिल्लाको दक्षिणी —पश्चिम क्षेत्र स्थित चक्रघट्टा गाउँपालिका ७ सकरदिनामा बँदेलको आक्रमणबाट ८ जना घाईते भएका छन् । बँदेलको आक्रमणबाट सकर दिनाका ६५ वर्षीय भुइला महतो, ६० वर्षीय रामइश्वर राय, ४५ वर्षीय राजेन्द्र राम,१४ वर्र्षीय मनिष कुमार महतो, १५ वर्षीय संजय साह, ३० वर्षीय सुजित महतो, वर्ष नखुलेको रामनरेश महतो र चक्रघट्टा ८ औरहीका राम नरेश राय घाइते भएको प्रहरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकोे छ ।

दक्षिणबाट दौदडै आएका बँदेल मकै खेतमा पसेको देखेपछि नजिकैको चौरमा क्रिकेट खेल्दै गरेका युवाहरुले लखेट्ने क्रममा बँदेलले उनीहरुलाई आक्रमण गरेको थियो । युवाहरुलाई आक्रमण गरेपछि उनीहरुले गाउँलेसंग गुहार मागेका थिए । बँदेल धपाउँन गाउँबाट आएका रामइश्वर, राजेन्द्र र भुइललाई पनि बँदेलले आक्रमण गरेको स्थानीयले बताए ।

घाइतेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको र उनीहरुको अवस्था समान्य रहेको प्रहरी चौकी औरहीले जनाएको छ् ।

LIVE TV