२ बैशाख २०७६, सोमबार

काठमाडौं । युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोले आफ्ना प्रतिद्वन्द्वी अनुपस्थित भएपछि खाली मञ्चमा एक्लै बहस गरेका छन् । आफ्ना प्रतिद्वन्द्वी, व्यङ्ग्यकार भोलोदिमिर जेलेन्स्की कार्यक्रममा नआएपछि राष्ट्रपति पोरोशेन्कोले राजधानी किएफस्थित ओलिम्पिक रङ्गशालामा हजारौँ मानिसको अगाडि एक्लै बोले ।

टेलिभिजनमा निर्वाचनबारे आयोजित एउटा बहसमा सहभागी हुन राष्ट्रपति पोरोशेन्को र जेलेन्स्की गत हप्ता सहमत भएका थिए । पहिलो चरणको चुनावमा १६ प्रतिशत मात्रै मत ल्याएका राष्ट्रपति पोरोशेन्कोले टेलिभिजन बहसमा जेलेन्स्की अनुपस्थित भएपछि त्यसबाट लाभ लिन चाहेको बताइएको छ । टेलिभिजन बहसमा पूर्वव्यापारी पोरेशेन्कोले आफ्ना प्रतिद्वन्द्वीसँग राजनीतिक अनुभव नरहेको कुरा उठाउन खोजेका थिए ।

तर मञ्चमा ४५ मिनेट लामो पर्खाइलाई राष्ट्रपति पोरोशेन्कोले पत्रकारका प्रश्नको उत्तर दिन र कार्यक्रममा अनुपस्थित आफ्ना प्रतिद्वन्द्वीको आलोचना गर्न उपयोग गरका छन् । भ्रष्टाचारजस्ता मुद्दासँग जुझ्न पर्याप्त काम नगरेको आरोप खेपिरहेका पोरोशेन्कोले निर्वाचन अभियानलाई एउटा ‘आवाजविहीन चलचित्र’को संज्ञा दिएका छन् भने जेलेन्स्कीमाथि तर्सिएको आरोप लगाएका छन् ।



LIVE TV