१ बैशाख २०७६, आईतवार
  • प्रेम सुनार

बुटवल । नयाँ वर्ष २०७६ मनाउन आईतबार बिहानैदेखि अधिकांश महिलाहरु घर सरसफाई सकेर मीठाेमसिनाे पकाउन चुलोमा व्यस्त थिए । तर गुल्मीको सदरमुकाम तम्घासको एक हेयर कटिङ्ग सैलुनमा भने एउटी महिला पुरुषहरुको दाह्री–कपाल ड्रेसिङ गर्दैमा व्यस्त थिईन् ।

तम्घासको पुतली बजारस्थित गाउँले हेयर कटिङ्ग सैलुनमा अर्घाखाँचीको मालारानी गाउँपालिका– २ मरेङ्ग गाउँकी २६ वर्षिया महिला रुपा नेपाली पुरुषहरुको दाह्री-कपाल काट्नमा व्यस्त भएकी हुन् ।

उनका श्रीमान विष्णु नेपालीले गत १० वर्षदेखि उक्त हेयर कटिङ्ग सैलुन सञ्चालन गर्दै आएका छन् । कक्षा १२ सम्म अध्यान गरेका नेपाली र उनका साथीहरु कोही सरकारी जागिर खोज्न त कोही विदेश ताक्न थाले तर उनी भने स्वदेशमै केही गरेर देखाउने उद्देश्य राखे ।

‘सैलुन खोलेर कपाल काट्ने पेशा गर्ने भनेको तराईवासी कि त भारतीय नागरिक नै हुन् भन्ने खालको मानसिकता थियो,’ नेपालीले भने, ‘साेही मानसिकता तोड्दै जुत्ता सिलाउने पुर्ख्यौली पेशा नअँगालेर नयाँ कामको थालनी गर्न २०६२ सालमा तम्घासको लुम्विनी हेयर कटिङ्ग सैलुनमा आई ३ महिनासम्म कपाल काट्ने सिप सिकेँ । पछि आफैँले लगानी गरेर यो सैलुन खोलेको हुँ, यस्तो काम गर्न मैले नै श्रीमतीलाई पनि सिकाएको हुँ ।’

श्रीमती नेपाली भन्छिन्, ‘दुई सन्तान छन्, उनीहरुलाई बिहान स्कुल पठाउने बेलासम्म भ्याउँदिन, स्कुल पठाई, खाना बनाइसकेपछि उहाँ (श्रीमान) संगै सैलुनमा बसेर दाह्री र कपाल काट्ने काम गर्छु ।’ अहिले आएर नेपाली दम्पत्तीले अरु दुई जनालाई पनि रोजगारी दिएका छन् ।

महिनामा कति जत्ति हुन्छ त कमाई ? भन्ने प्रश्नमा उनले भने, ‘हुन्छ त्यस्तै ४० देखि ४५ हजार सम्म ।’ उनको घर सदरमुकाबाट नजिकै पर्दछ । उनले सैलुन सञ्चालन गरेर सिङ्गो परिवार धान्नुका साथै दुई सन्तानलाई सदरमुकाममा सुविधा सम्पन्न बाेर्डिङ्ग स्कुल पढाएका छन ।

झण्डै एक दर्जन हेयर कटिङ्ग पसल सञ्चालन हुँदै आएको सदरमुकाम तम्घासमा विरलै मात्र पहाडी युवाहरु यस पेसामा रहेका छन् । ३० औं वर्षअघि देखि भारतीय नागरिकहरुले सदरमुकाम तम्घासमा सैलुन सञ्चालन गर्दै आएका छन् । धेरैजसो नेपालका तराईवासी पनि छन् ।

पहाडी पुरुषहरु नै बजारमा कपाल काट्ने पेशा गर्न लजाउने गरिरहेको बेला एउटी महिला रुपा नेपालीले पुरुष सरह काम गरेर महिलाले जे पनि गर्न सक्छन भन्ने उदाहरण देखाएकी छन । ब्युटी पार्लरहरुमा प्रशस्त महिलाहरु सक्रिय हुँदै आए पनि पुरुषहरुको दाह्री कपाल गर्ने कममा गुल्मीमा मात्र होईन पश्चिम नेपाल मै प्राय देख्न सकिएको छैन ।

LIVE TV