कच्चा पदार्थ र जनशक्तिको अभावमा भोजपुरको ऐतिहासिक शहर टक्सार इतिहास गुमाउँदै (भिडियो)



प्रकाशित मिति : Apr 12, 2019

१. कच्चा पदार्थ र जनशक्तिको अभावमा भोजपुरको ऐतिहासिक शहर टक्सार इतिहास गुमाउँदै

भोजपुर । पूर्वको भोजपुरको इतिहास आफैमा वैभवशाली छ । सडक समयमा नपुग्दा विकटताको परिचय पनि बोक्यो यसले । तर आफुसंग भएको कला, शिप र शिल्पीले धनी यो जिल्ला देशभरी नै खुकुरीको र करुवाको कथाले पनि चिनियो । हरेक घरको भान्सामा प्रयोग हुने झर्के थाल होस् या काँसका सामग्रीहरु भोजपुरवासीको मेहनत र पौरखले नेपालमा अलग्गै पहिचान बनाउन सफल भएको छ लामो समयदेखि ।

तर, अहिले धातुका यही सामग्रीहरु उत्पादन गरेर ख्याति कमाएको भोजपुरको टक्सार बजार भने अहिले आफै थाक्दै गएको छ । उद्योगका लागि चाहिने कच्चा पदार्थ र जनशक्तिको अभावका कारण देश विदेशमा ख्याति कमाएका टक्सार उद्योगहरु संकट पर्दा कतिपय उद्योगहरु बन्द नै भइसकेका छन् । टक्सारको त्यो पुरानो ख्याति र यस्ले यही ख्यातिमार्फत देशविदेशमा जोडेको साइनोको रक्षाका लागि राज्य र प्रदेश सरकारकै ध्यान तानिन आवश्यक देखिएको छ ।

२. स्थानीय परिकारसहित लिम्बू संस्कारसंग रमाउनेहरुका लागि तेह«थुममा खोलियो होमस्टे

तेह्रथुम । होमस्टे पछिल्लो समय ग्रामीण पर्यटनसंग जोडिएको मौलाउँदो संस्कृति बन्दै गएको छ । गुन्द्रुकको झोल र साँधेको भट्माससंग स्थानीय परिकारका साथै गुन्द्रीमा निन्द्रा साटन रमाउने शौखिनहरुका लागि होमस्टे आकर्षक गन्तव्य बन्दैछ ।

नेपालका हरेक जिल्लामा अर्थात ग्रामीण भेगहरुमा होमस्टे फस्टाउँदै गर्दा यस्ले पूर्वको रमणीय तेह«थुम जिल्लालाई पनि अछुतो राख्न सकेन । अहिले तेह्रथुमको आठराई स्थित खाम्लालुङमा सञ्चालित खोरङदेन सामुदायिक होमस्टे नमुना बनेर पेश भएको छ ।

पर्यटकीय हिसाबले पनि प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको खाम्लालुङ क्षेत्रमा होमस्टे सञ्चालनमा आएपछि यहाँ पुग्ने आन्तरिक तथा वाह्य पर्यटकहरु बढ्ने विश्वास गरिएको छ । लिम्बू जातिको सांस्कृतिक पक्षहरु झल्कने र पेश गरिने यस होमस्टे लिम्बू जातिको संस्कृतिको संरक्षणका लागि पनि कोशेढुंगा बन्ने संकेत देखिएको छ ।

३. व्रिटिश लाहुरे बन्न नसकेका युवा विशाल राई बने मुलुककै सर्वोत्कृष्ट किसान

झापा । जीवनमा हार खानु हुँदैन , जित्नेहरुको शब्दकोषमा सजिएको हरफ हुन यी । हुन पनि व्रिटिश लाहुरे बनेर केही दुःखपछि सुखी जीवन जिउने सपना बोकेका झापाका एक युवक बारम्बारको प्रयासमा पनि ब्रिटिश लाहुरे बन्न सकेनन् ।

बारम्बारको असफलताले निराश बनेका यी युवकलाई त्यसपछि विदेशको धनले नभइ आफ्नै माटोको मायाले आकर्षित ग-यो । पुर्खाले अगाडि बढाएको कृषि कर्ममा नै आफ्नो भाग्य देखेका २८ बर्षीया झापाली युवा विशाल राई अहिले मुलुककै सर्वोत्कृष्ट कृषक घोषित हुन सफल भएका छन् । जान्दा र गर्दा अर्थात अल्छी नगरि श्रम गर्दा मुलुककै माटोमा सुन फलाएर सुखको स्वर्गीय अनुभूति पाउन सकिन्छ भन्ने लोभलाग्दो उदाहरण बनेका छन् विशाल ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com