गाउँपालिकाको हस्तक्षेपका कारण १३ महिनादेखि आधारभुत तहका शिक्षकको पद रिक्त



प्रकाशित मिति : Apr 07, 2019
  • रबिना बोहरा

बागलुङ, २४ चैत । काठेखोला गाउँपालिका–२ भिमापोखरामा रहेको एक विद्यालयमा विगत १३ महिनादेखि प्रावि तहका एक जना शिक्षकको पद रिक्त छ । भिमापोखरामा रहेको जनप्रिय आधारभुत विद्यालयमा २०७४ सालको चैत महिनामा सामाजिक बिषय पढाउदैँ आएका प्रधानाध्यापक नरबहादुर बिकले अवकाश लिएपछि रिक्त रहेको पदमा अहिले सम्म शिक्षकको नियुक्ति हुन सकेको छैन ।

स्थानीय तहमा शिक्षक नियुक्त गर्न पाउने अधिकार गाउँपालिकाको रहेको भन्दै हस्तक्षेप गरेपछि अहिले सम्म शिक्षक राख्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर भण्डारीले बताउनुभयो । अहिले यस विद्यालयमा झण्डै १ सय ३० जना विद्यार्थीहरु अध्ययनरत छन् । शिक्षक नहुँदा यस बर्ष विद्यार्थीहरुले सामाजिक बिषयको परिक्षा राम्रो संग अध्ययन नगरी दिएको भण्डारीले बताउनुभयो ।

गत बैशाखमा शिक्षक आवश्यकता सम्बन्धि सुचना प्रकाशन गरेपछि ११ जनाले दरखास्त दिएको भएपनि गाउँपालिकाले शिक्षक राख्न नदिदा समस्या भएको विद्यालयले जनाएको छ । गाउँपालिका, शिक्षा कार्यालय तथा विद्यालयमा सुचना टाँस गरी पटक पटक डेलिगेशन गए पनि गाउँपालिकाले मनपरी गर्दा विद्यार्थीहरुको भबिष्य अन्यौलमा परेको भण्डारीले बताउनुभएको छ ।

शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ खारेज नभएको तथा संघिय तथा प्रादेशिक शिक्षा ऐन नबन्दा सम्म नयाँ शिक्षक तथा प्रधानाध्यापकको नियुक्ति, सरुवा, बर्खास्ती लगायतका काम पुरानो ऐन अनुसार नै गर्नुपर्ने व्यवस्था छ । संघ संग नबाझिने गरी प्रदेश र स्थानीय तहले शिक्षा ऐन बनाएपछि मात्रै शिक्षक नियुक्ति लगायतका काम गर्न पाउने भएपनि अहिले काठेखोला गाउँपालिकाले नियम विपरित काम गर्न लागेको विद्यालयले आरोप लगाएको छ ।

संविधानमा सबै सरकारी सेवामा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्ने व्यवस्था भएपनि गाउँपालिकाले राजनीतिक नियुक्त गर्न पाउनुपर्छ भन्ने अडान नछाडेका कारण विद्यार्थीहरुलाई आगामी शैक्षिक सत्रमा समेत अध्यापन गराउन समस्या उत्पन्न हुने बताइएको छ । गाउँपालिकाले नियम विपरित काम गर्न खोजेको भन्दै विद्यालय व्यवस्थापन समितिले सर्वोच्व अदालतमा मुद्धा दर्ता गरेको बताएको छ ।

यता पुरानो शिक्षा ऐन खारेज भएपछि शिक्षा सम्बन्धि सबै जिम्मेवारी स्थानीय तहलाई आएकाले सोही अनुसार काम गर्न लागेको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो । गाउँपालिकाले बिषय शिक्षक नियुक्ति गर्न तथा सरुवा गर्न कार्यविधि बनाएकाले सोही अनुसार अघि बढेको थापाको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com