२४ चैत्र २०७५, आईतवार

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बाग्मती नदीको प्रवाहलाई निरन्तरता दिन सुन्दरीजल चिसापानीमा निर्माणाधीन परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अवलोकन गर्दै उर्जामन्त्री पुनले परियोजनाकाे निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो ।

मन्त्री पुनले काठमाडौंबासीको जीवन र वाग्मती सभ्यतासँग जोडिएको महत्वपूर्ण आयोजना भएकाले यसको निर्माण कार्य समयमै सम्पन्न गर्न मातहतका निकायलाई सचेत समेत गराउनुभयो । उहाँले आयोजना सरकारको प्राथमिकताको आयोजना भएकाले यसका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

हिउँद महिनामा पनि बाग्मतीमा नदीको प्रवाह गराई राख्न सो परियोजना निर्माण कार्य सुरु गरिएको हो । नदी प्रवाहका लागि एउटा मुख्य जलाशाय र २ वटा सहायक जलाशाय निर्माण भईरहेको छ ।

८ लाख ५० हजार घनमिटरको मुख्य जलाशाय निर्माण हुने पनि परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख नारायण सुवेदीले सो परियोजनाको कामलाई अघि बढाउन आवश्यक जनशक्तिको पनि व्यवस्था गरिदिन उर्जामन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

सन् २०२० को फेबु्रअरीसम्मे परियोजनाको जलाशाय निर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्य छ । एशीयाली विकास बैंकको सहयोगमा सन् २०१५ मा परियोजना निर्माण सुरु गरिएको थियो ।

LIVE TV