विराटनगरमा सडक फराकिलो बनाउने अभियानलाई घरधनीहरुको अभिमानले पु–यायो चोट (भिडियो)



प्रकाशित मिति : Apr 06, 2019
  • तारा आचार्य,

विराटनगर । विकास निर्माणको कार्यमा ढिलाई भए त्यस्ले भोग्नु पर्ने सास्ती एकतर्फी नभइ चौतर्फी हुन्छ । विकास निर्माणको दायित्व नै सबैको सहजतासंग जोडिएको हुन्छ । तर यही विकास निर्माणको काममा ढिलाइ हुँदा सर्वसाधारणले मात्र नभइ नियमितरुपमा प्रयोग गर्ने सरोकारवालाहरुले समेत सास्ती पाउने गर्छन् ।

यस्तै भएको छ अहिले विराटनगर महानगरपालिका भित्र भइरहेका विकास निर्माणको काममा पनि । विराटनगर महानगरपालिका भित्रका सडकहरु फराकिलो र चौडा बनाउने प्रयास बिचैमा रोक्नु परेको अवस्था छ । सडकका किनारामा बनाइन थालेका नाला तथा ढलहरुका लागि सम्बन्धित घरधनीहरुले ठाउँ नछोडिदिदा अलपत्र बनेका छन् ।

जसले गर्दा सडक निर्माणको लागत बढ्ने सम्भावना देखिएको छ भने सर्वसाधारणले सास्ती पाउने काम दिन दुई गुना रात चौगुनाले बढ्दो छ । घरधनीहरुले अटेर गर्दा पनि उनीहरुको अटेरीलाई पन्छाउने दायित्व बोकेको विराटनगर महानगरपालिका आफै अटेरी बन्दा विराटनगरवासीको आक्रोशको पारो भने बढ्दो छ ।

विराटनगर महानगरपालिकामा करिब ५० भन्दा बढी ठाउमा राइट अफ वे अर्थात साइट खाली नभएका कारण क्षेत्रीय शहरी विकास परियोजनाको काम रोकिएको छ । साइट खाली नहुँदा एकातिर निर्माण कार्यमा ढिलाई भएर आवतजावतमा समस्या भएको छ भने अर्कोतिर निर्माण लागत समेत बढेको छ ।

सडक मापदण्ड विपरित बनाएका घरहरु भत्काएर साइट उपलब्ध गराउनुपर्ने जिम्मेवारी विराटनगर महानगरपालिकाको हो । तर वर्ष दिन भईसक्दा समेत साइट खाली नगराएर स्वयं विराटनगर महानगरपालिकाले विकास निर्माणमा ढिलाई गरिरहेको भन्दै स्थानीयवासीमा गुनासो चर्को बनेको छ ।

यस विषयमा बुझ्न खोज्दा महानगरका मेयर सदैव पन्छिने गर्दै आएका छन् भने महानगरका प्रवक्ता प्रयास जारी रहेको बताउदै आएका छन् । क्षेत्रीय शहरी विकास आयोजना विराटनगरले भने महानगरले जिम्मेवारी बोध नगर्दा १७ महिनामा मात्र ५८ प्रतिशत मात्र काम सकिएको भन्दै बाँकी कामको लागि बाटो सहज बनाइदिन आग्रह गर्दै आएको छ ।

हालै सम्पन्न महिला साफ च्याम्पियनशीपमा यही कारण आलोचना भोग्नु परेको विराटनगरले यही शैली कायम राखे थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसर पनि गुमाउने सम्भावना बढेको छ । विराटनगर महानगरले यसबारेमा बेलैमा सोच्ने कि ?


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com